१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ श्रावण ३१ मंगलबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन वर्षदेखि बन्द टिप्ताला नाका खुलाउने पहल गर्न पालिकाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १७:२९:oo

पछिल्लो तीन वर्षदेखि बन्द ताप्लेजुङको टिप्ताला नाका खुलाउन पहल गर्न अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ। कोभिड–१९ लाई कारण देखाउँदै बन्द गरिएको नाका तीन वर्षसम्म बन्द रहँदा जिल्लाका हिमाली क्षेत्रका नागरिकको जीवन असहज भएको भन्दै पालिकाले नाका खुलाउन पत्र लेखेको हो।

नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला, फले, याङ्मा र घुन्सालगायत क्षेत्रका नागरिकले उत्पादन गरेको सामाग्री निर्यात र उपभोग्य वस्तु आयात गर्न नपाएका जिप्रकालाई पत्र लेखिएको पालिका अध्यक्ष राजन लाबुङ लिम्बू (मुक्ति)ले जानकारी दिए।

नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबाट आयात गर्नुपर्ने बाध्यता भए पनि अहिले नाका बन्द भएकाले दैनिक जीवन नै ठूलो समस्यामा परेको छ। सदरमुकाम फुङलिङबाट आपूर्ति गर्दा ढुवानी खर्च खरिद मूल्यको तीनगुणाभन्दा बढी महँगो पर्ने गरेको छ।

‘दैनिक उपभोग्य वस्तु आयात तथा विभिन्न स्थानीयस्तरमा उत्पादित वस्तु निर्यात गर्न नसक्दो दैनिकी कष्टकर बनेकाले नाका खुलाउने कार्यको सहजीकरणका लागि पालिकाले प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ,’ अनुरोधपत्रमा उल्लेख छ।

 

याे पनि : तीन वर्षदेखि बन्द टिप्ताला नाका, आर्थिक संकटमा यांमावासी