मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २५ बुधबार १२:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा पुनः देखियो कोरोना, ५८ जनामा परीक्षण गर्दा २१ संक्रमित

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १२:५२:००

खोटाङमा पुनः कोभिड– १९ को संक्रमण देखिन थालेको छ। जिल्ला अस्पतालमा ५८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ तथा मंगलबार १४ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामाले बताइन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई होम आइसोलेसनमा राखिएको छ। कोरोनाको लक्षण देखिन थालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरूमा पनि कोरोना परीक्षण सुरु गरिएको छ। जिल्लाका सबै स्थानीय तहको तथ्यांक भने आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिक्देलले बताए। ‘कोरोना संक्रमण देखिन थालेपछि सबै संयन्त्र परिचालन गरिएको छ,’ उनले भने, ‘विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नागरिकसमेत सचेत हुन जरुरी छ।’

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ। जिल्लामा कोभिड– १९ को संक्रमण फैलिन नदिन एवं रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो । 

विमानस्थलहरूमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयहरूमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवा प्रदायक कार्यालयहरूको प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाईलगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। 

यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थानहरूमा मास्क लगाउन प्रेरित गर्न सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म तीन हजार पाँच सय दुईजनामा संक्रमण पुष्टि भएको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म १५ जनाको ज्यान गइसकेको छ । 

जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार चार सय ३० जनाले पहिलो मात्रा खोप लगाएका छन्। जिल्लामा अहिले एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको प्रमुख सिक्देलले जानकारी दिए।

जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, प्रदेश १ स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख रुपैयाँकाे लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पताल खोटाङका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन्।