मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बिआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १२:००:००

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन्। 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन् ।

उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए । सम्मानित नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले ०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए। 

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए । उनले वाम एकताका लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् वाम एकताको सम्भावना नरहेको दाबी गरे । 

नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेकोबारे यो महत्वपूर्ण भ्रमण रहेको बताए । उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बिआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिबारे जोड दिनुपर्ने बताए । 

उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे । उनले यी क्षेत्रमा जुनकुनै वेलामा पनि चीनले दाबी गर्न सक्ने बताए । उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिन सक्ने सहयोगको उचित फाइदा लिन पहल गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री खनालले वेलावेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।