१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०७:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०७:२७:००

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र बिदेसिएका नेपालीलाई एक दिन स्वदेश फर्कन अपिल गर्ने दिनको प्रतीक्षामा आफू रहेको बताए । 

नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा प्रचण्डको जोड थियो । ‘हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन्,’ उनले भने, ‘हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर, जापानीहरूमा कुनै विद्वेष छैन । त्यसवेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’ 

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे । जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए । संविधान जारी भएपछि दोस्रोपटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिरमा हुने संघीय र प्रदेश सभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्नेबारे सामूहिक रूपमा प्रयत्न गर्नुपर्नेमा प्रचण्डले जोड दिए । 

विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै उनले भने, ‘म दुईपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्नुपरेन । यस आधारमा पनि भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ ।’
प्रचण्डले आफ्नै पहलमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र ऊर्जा क्षेत्रमा दीर्घकालीन लक्ष्यका साथ अभियान अगाडि बढाइएको स्मरण गरे ।

 ऊर्जाको व्यापारमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका काम अगाडि बढाइएको प्रचण्डले जानकारी दिए । माओवादीकै पहलमा देशमा संघीयता र गणतन्त्र आएको उनको भनाइ थियो । चालू आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तवरले लगानी गर्ने वातावरण बनाइएको तथा देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागिपरेको उनको भनाइ थियो ।