मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ श्रावण २१ शनिबार १०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जदेखि दिल्लीसम्मको पैदल यात्रामा निस्किए ३० वर्षीय युवक

Read Time : < 1 मिनेट
२०७९ श्रावण २१ शनिबार १०:५९:००

- यात्रामा कुनै अवराेध नभए १८ देखि २४ दिनभित्रमा दिल्लीको संसद् भवन पुग्ने लक्ष्य

- बिहान ६ देखि राति ८ बजेसम्म उनले दैनिक १४ घन्टा पैदल यात्रा गर्नेछन्

वीरगन्जका एक युवक वीरगन्जदेखि दिल्लीसम्मकाे पैदल यात्रामा निस्किएका छन् । वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्ना वीरगन्ज घन्टाघरदेखि दिल्लीसम्म पैदल यात्रा गर्न निस्किएका हुन् । शनिबार बिहान ८ बजे उनलाई वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसहितका स्थानीयले माला र खादा लगाएर बिदाई गरेका छन् । 

एक हजार ६० किलोमिटर टाढा रहेको भारतको राजधानी नयाँदिल्ली जाने योजना उनले चार महिनाअघिदेखि बनाएका थिए । महानगर, जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट उनले  दिल्लीसम्मको पैदल यात्राका लागि अनुमति पाएका छन् । 

वीरगन्ज र नेपालको नाम फैलाउन आफूले अनौठो लक्ष्य लिएको उनले बताए । तेक्वान्डो खेलका स्थानीय प्रशिक्षकसमेत रहेका मुन्नाले यात्रामा कुनै अवराेध नभए १८ देखि २४ दिनभित्रमा दिल्लीको संसद् भवन पुग्ने लक्ष्य राखेका छन् ।  

यस पैदल यात्राले पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्य रहेको उनले बताए । उनले वीरगन्ज–दिल्ली रुटमा पर्ने भारतीय प्रहरीचौकी हुँदै आफू कुन मितिको कुन समयमा आएको सिफारिस गराउँदै जिपिएसको सहाराले यात्रा गर्ने बताएका छन् । 

वीरगन्जकाे घन्टाघरबाट प्रारम्भ भएको उनको यात्रा बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश पुग्नेछन् ।  त्यहाँबाट गाजियावाद, बुलेन्दसहर हुँदै दिल्ली पुगेर यात्रा सकिनेछ । सात किलोको झोलामा दैनिक उपभोग्य सामान बोकेर उनी यात्रामा निस्किएका छन् । बिहान ६ देखि राति ८ बजेसम्म उनले दैनिक १४ घन्टा पैदल यात्रा गर्ने बताए ।