मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण १९ बिहीबार १७:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमित बढेपछि कर्णालीका विद्यालय बन्द हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १७:४६:oo

जुम्लाको तिला गाउँपालिका–६ घोडे गाउँस्थित जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीहरूमा कोभिड–१९ संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ। ८८ जनाको स्वाब परीक्षण गर्दा एक छात्र, एक छात्रा र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि बिहीबार विद्यालय बन्द गरिएको हो।

अघिल्लो हप्ता हिमा गाउँपालिका महावैपाथरखोला गाउँमा रहेको विद्यालयमा पनि संक्रमण परीक्षण गर्दा कोरोना देखिएको थियो। विद्यार्थीहरूलाई खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए। ती विद्यार्थीहरू एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखाको सहयोगमा परीक्षण गरेको थियो। विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको छ।

प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए। ‘संक्रमितलाई राख्नका लागि क्वारेन्टिनको व्यवस्था छैन,’ उनले भने, ‘आआफ्नो घरमा सुरक्षित रहन भनेका छौँ।’ कोरोना परीक्षणका लागि सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको भए पनि गम्भीर बिरामी परेका विद्यार्थी आउन नसकेको उनले बताए। जनजागृति मावि घोडेमा २२२ जना विद्यार्थी छन्। कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको छ।

यता, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयका विद्यार्थीमा पनि कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। संक्रमण परीक्षण गर्दा शिक्षक विद्यार्थी गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १९ साउनदेखि २५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। संक्रमण पुष्टि भएका विद्यार्थी र शिक्षकलाई विद्यालयमै तोकिएको आइसोलेसनमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिबहादुर बुढाले बताए।

यसअघिको कोरोना महामारीको वेलाका बनाइएका सबै संरचना अस्तव्यस्त अवस्थामा छन्। अहिले पुनः संक्रमण देखिन थालेपछि संक्रमितहरूलाई होम क्वारेन्टिनको नाममा घरमै राखिएको छ। होम क्वारेन्टिन बस्नेहरूले सतर्कता नअपनाउँदा संक्रमण थप फैलिएको यसअघिका अनुभवले पुष्टि गरिसकेकाे भन्दै स्वास्थ्यकर्मी चिन्ता व्यक्त गर्छन्।