Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १९ बिहीबार १०:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोसी नदीले धार परिवर्तन गर्दा तीन जिल्लाका पाँच पालिका जोखिममा 

Read Time : > 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार १०:३९:००

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

सप्तकोसी नदीले पश्चिम क्षेत्रको तटबन्धन भत्काएर बस्तीमा पसेपछि उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिकाका बस्तीहरू जोखिममा परेका छन् । सप्तकोसी नदीमा आएको बाढीले अस्थायी बाँध भत्काएर बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका ८ का हजारौँ मानिस विस्थापित भएका छन् । 

विगत केही दिनको अविरल वर्षाका कारण बुधबार बिहान सप्तकोसीले अस्थायी बाँध भत्काएर बस्तीमा प्रवेश गरेको थियो । जसले गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३ र ८ का सयौँ घर जोखिममा परेका छन् । सुनसरीको बराहक्षेत्र ६ र ९ नम्बर वडाका घर डुबाएको छ । 

नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई मंगलबारदेखि नै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको थियो । कोसी नदी मानवबस्तीमा पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो । 

बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए । कोसी डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबlसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएको उनले जानकारी दिए । नगर प्रमुख कार्कीले भने, 'यहाँका मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । हालसम्म  कुनै मानवीय क्षति भएको छैन ।' 

कोसीको मूल भँगालो बस्तीतिर जान थालेपछि बाढीले उदयपुरको बेलका, सुनसरीको बराहक्षेत्र र सप्तरीकाे सप्तकोसी, कन्चनरूप र हनुमाननगर नगरपालिकाका केही बस्ती समेत डुबानमा परेका छन् ।

२३ सय परिवार संकटमा

नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गरी बस्ती पसेको हो । मेयर कार्कीका अनुसार बेलका नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय परिवार संकटमा परेका छन् । सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बरका १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन भएका छन् । सप्तकोसी नदी पश्चिम सोझिँदा सुनसरी, उदयपुर र सप्तरीका ३० हजारभन्दा बढी मानिस जोखिममा पर्ने बताइएको छ । 

बाढीबाट प्रभावितलाई ट्याक्टरमा स्थानीय विद्यालयमा ओसार्ने क्रम चलिरहेको बेलका वडा नं. ८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिए । विस्थापित नागरिकलाई सुरक्षित  स्थानमा सार्न जनपद, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेली खटिएको सशस्त्र प्रहरीका डिआइजी कमल गिरीले जानकारी दिए ।

बेलका नगरपालिकाका मेयर कार्कीका अनुसार ०४५ सालको भूकम्पअगाडि कोसी हाल पसेको बाटो भएर बगेको थियो । अहिले त्यही अवस्थामा आएको छ । ०४५ साल पछि कोसीले बाटो परिवर्तन गरेर पूर्वीय क्षेत्रबाट बग्दै आएपछि उक्त स्थानमा टापु बनेको थियो । 

‘ढेड महिना अघिदेखि कोसीले कटान गरिरहेको थियो । हामीले नगरको सबै शक्ति त्यहीँ लगाएर नियन्त्रणको प्रयास गरेका थियौँ । स्थानीयहरूलाई सचेत गराएर बस्ती छाड्न त्यही वेलादेखि भनेका पनि थियौँ,’ मेयर कार्कीले भने, ‘तर, बाढी निरन्तर बढ्दा कोसीले धार परिवर्तन गरेरै छाड्याे ।’ 

बेलका नगरपालिकाका दुई हजार तीन सय सय परिवारलाई स्कुल, सार्वजनिक भवनमा स्थानान्तरण गरिएको छ । केही मानिस सम्पत्ति र  वस्तुभाउको लोभले सुरक्षित स्थानमा  आउन मानिरहेका छैनन् । उनीहरू जाेखिममै छन् ।