Skip This
अयमान अलजवाहिरी : चिकित्सकको हिंसात्मक जीवनयात्रा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
अलकायदाका नेता स्व. ओसामा बिन लादेनसँगै अलजवाहिरी ।
एजेन्सी
२o८१ बैशाख २९ शनिबार १o:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अयमान अलजवाहिरी : चिकित्सकको हिंसात्मक जीवनयात्रा

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:४२:oo

अमेरिकाले अलकायदाका नेता अयमान अलजवाहिरीलाई अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर सोमबार मारिदिएको छ । आँखाका डाक्टर अलजवाहिरीलाई अलकायदाको मस्तिष्क भनिन्थ्यो । अमेरिकाले सन् २०११ मा ओसामा बिन लादेनलाई मारेपछि अलजवाहिरीले अलकायदाको नेतृत्व गर्दै आएका थिए । लादेन जिउँदो छँदा उनी अलकायदाका दोस्रो नेता थिए र उनलाई ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आक्रमणको मुख्य योजनाकार मानिन्छ । ११ सेप्टेम्बरको आक्रमणपछि अमेरिकाले २२ जना ‘मोस्ट वान्टेड’ आतंकवादीको सूचीमा राख्दै टाउकोको मूल्य २.५ करोड डलर तोकेको थियो ।

निसानामा पश्चिम
जवाहिरीले आफ्नो समूहका लागि आर्थिक स्रोत खोज्न सन् १९९० को दशकमा विश्वका धेरै देश भ्रमण गरे । अफगानिस्तानबाट सोभियत संघ फर्किने समयमा अलजवाहिरी बुल्गेरिया, डेनमार्क र स्विट्जरल्यान्डमा बसेका थिए । उनले धेरैपटक नक्कली राहदानी लिएर बाल्कन, अस्ट्रिया, यमन, इराक र फिलिपिन्सको भ्रमण गरेका थिए । जवाहिरी डिसेम्बर १९९६ मा ६ महिनासम्म रुसी हिरासतमा बसेका थिए । उनी भिसाविना चेचन्यामा पक्राउ परेका थिए । परिचय लुकाउन सफल भएकाले छुटिहाले । अलजवाहिरी सन् १९९७ मा अफगानिस्तानको जलालाबाद सहरमा सरेको मानिन्छ, जहाँ पहिलेदेखि ओसामा बिन लादेन बसिरहेका थिए । 

एक वर्षपछि, इजिप्ट इस्लामिक जिहाद र पाँच अन्य अतिवादी इस्लामिक समूहबीच एकीकरण भयो । यसमा ओसामा बिन लादेनको अलकायदा पनि समावेश थियो । त्यसपछि बनेको वल्र्ड इस्लामिक फ्रान्टले यहुदी र इसाईविरुद्ध जिहाद घोषणा गर्‍यो । पहिलो घोषणामै संगठनले अमेरिकी नागरिकलाई मार्नका लागि फतवा जारी गरेको थियो । संगठन बनेको ६ महिनापछि एकैपटक थुप्रै हमला भए । जसमध्ये केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएका आक्रमणमा दुई सय २३ जनाको मृत्यु भएको थियो ।

अलजवाहिरीले स्याटेलाइट टेलिफोनमा गरेका कुराकानी गुप्तचर निकायले सुन्न सफल भएको थियो । जसलाई ती दुतावासमा भएको आक्रमणका पछाडि बिनलादेन र अलकायदा संलग्न भएको प्रमाणको रूपमा प्रस्तुत गरिन्छ । आक्रमणको दुई सातापछि अमेरिकाले अफगानिस्तानस्थित समूहको प्रशिक्षण केन्द्र ध्वस्त पारेको थियो । त्यसको भोलिपल्ट जवाहिरीले पाकिस्तानी पत्रकारलाई फोन गरेर भनेका थिए, ‘तपाईं अमेरिकालाई भन्नुहोस् कि हामी उनीहरूको बमबारी, धम्की र आक्रमणबाट डराउनेछैनौँ । युद्ध त भर्खरै सुरु भएको छ ।’ नभन्दै तीन वर्षपछि उनको नेतृत्वमा ११ सेप्टेम्बरको आक्रमण भयो । 

जेलबाट फेरियो जीवन
अनवर सदातको हत्यापछि अदालती सुनुवाइका क्रममा अलजवाहिरी पक्राउ परेकाहरूको नेताका रूपमा उदाए । उनले अदालतमा भनेका थिए, ‘हामी मुसलमान हौँ र हामी आफ्नो धर्ममा विश्वास गर्छौँ । हामी एक इस्लामिक देश र समाज निर्माण गर्ने प्रयासमा छौँ ।’ अदालतले अलजवाहिरी अनवर सदातको हत्यामा प्रत्यक्ष संलग्न नभएको सफाइ दियो । तर, अवैध हतियार राखेको अभियोगमा दोषी ठहर गर्‍यो । जुन अपराधका लागि उनलाई तीन वर्षको जेल सजाय सुनाइयो । 

अलजवाहिरीसँग बसेका कैदीहरूका अनुसार जवाहिरीले जेलमा यातनाको सामना गर्नुपरेको थियो । जेलमा उनीमाथि कुटपिट हुन्थ्यो । जेलको यातनाले उनी हिंसात्मक इस्लामिक कट्टरपन्थी बन्दै गए । 

सन् १९८५ मा जेलबाट रिहा भएपछि अलजवाहिरी साउदी अरब गए । साउदीपछि उनी पाकिस्तानको पेसावर सहर र त्यहाँबाट अफगानिस्तान गए । अफगानिस्तानमै उनले इजिप्टियन इस्लामिक जिहादको एउटा गुटलाई संगठित गरे । त्यसवेला अफगानिस्तान सोभियत नियन्त्रणमा रहेकाले बाहिर देखाउन उनले चिकित्सा पेसा पनि अँगालिरहे ।

अलजवाहिरीले सन् १९९२ मा इजिप्टियन इस्लामिक जिहाद परिपक्व भएको ठानेपछि त्यसको कमान्ड सम्हाल्दै इजिप्टमा आक्रमण तीव्र बनाए । इजिप्टमा सरकारी मन्त्रीहरू र प्रधानमन्त्री आतिफ सिद्दिकीमाथि भएको आक्रमणमा संगठनले महत्वपूर्ण भूमिका खेलेको थियो । यी घटनामा जवाहिरीलाई मुख्य योजनाकार मानियो ।

यस समूहको अभियानकै कारण त्यहाँको सरकार ढल्यो र सन् १९९० को मध्यमा इजिप्ट इस्लामिक स्टेट बन्यो । यस अभियानमा इजिप्टका १२ सयभन्दा बढीले ज्यान गुमाए । सन् १९९७ मा अमेरिकी विदेश मन्त्रालयले इजिप्टको लक्सर सहरमा विदेशी पर्यटकमाथि भएको आक्रमणको दोष अलजवाहिरीलाई लगायो । 

प्रतिष्ठित परिवारमा जन्म
अलजवाहिरी १९ जुन १९५१ मा इजिप्टको राजधानी कायरोको एक प्रतिष्ठित परिवारमा जन्मिएका थिए । उनका परिवारमा केही सदस्य डाक्टर र विद्वान् थिए । अलजवाहिरीका हजुरबुबा रबिया अलजवाहिरी मध्यपूर्वको सुन्नी इस्लामिक अध्ययन केन्द्र अलअजहरका ‘ग्रान्ड इमाम’ थिए । उनका काका अरब लिगको पहिलो महासचिव थिए । अलजवाहिरीका पिता मोहम्मद कायरो विश्वविद्यालयका फर्माकोलोजीका प्राध्यापक थिए ।

जवाहिरी स्कुलमा अध्यय गर्दैदेखि इस्लामवादी राजनीतिमा संलग्न थिए । इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहुडको राजनीतिमा लागेको आरोपमा उनी १५ वर्षकै उमेरमा पक्राउ परेका थिए । मुस्लिम ब्रदरहुड इजिप्टको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो इस्लामिक संगठन हो । तर, यी गिरफ्तारीका बाबजुद अलजवाहिरीको राजनीतिक गतिविधिले उनको चिकित्सा अध्ययनमा कुनै बाधा पुर्‍याएन । उनले सन् १९७४ मा कायरो विश्वविद्यालयबाट चिकित्सामा स्नातक गरे र यहीँबाट चार वर्षपछि सर्जरीमा स्नातकोत्तर गरे ।

जवाहिरीले सुरुमा अध्ययन गरेको पेसालाई पछ्याउँदै कायरोमा मेडिकल क्लिनिक खोले । तर, बिस्तारै इस्लामिक चरमपन्थीको प्रभावमा पर्न थाले । सन् १९७३ मा इजिप्टमा इस्लामिक जिहाद समूह गठन हुँदा अलजवाहिरी त्यसमा सामेल भए । सन् १९८१ मा इजिप्टका तत्कालीन राष्ट्रपति अनवर सदातको एक सैन्य परेडमा हत्या भयो । हत्याका लागि इजिप्टियन इस्लामिक जिहादका कार्यकर्ता सेनाको पोसाकमा परेडमा सहभागी भएका थिए । यसमा अलजवाहिरी पनि समावेश थिए । अनवर सदातले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि इस्लामिक समूह उनीसँग क्रुद्ध बनेको थियो । 

ad
ad