मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १६ सोमबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्किए

Read Time : > 1 मिनेट
२०७९ श्रावण १६ सोमबार १०:४७:००

खोटाङको साकेला गाउँपालिका– ५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ म्याग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ । 

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । ‘भूकम्पको केन्द्र मात्तिमविर्ता मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण संकलन भएको छ,’, उनले भने, ‘अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ । अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुनसकेको छैन ।’

सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको छ । सो नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्ने गरी चर्किएको छ । वडा नम्बर ९ सल्लेका ध्रुवप्रसाद पौडेलको घरमा बस्न नमिल्ने गरी क्षतिभएको वडा नम्बर ७ महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टिग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । 

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताए । ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ,’ उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।’

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनभन्दा बढी परकम्प गएको महसुस गरिएको छ । पटक–पटक परकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घरनजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन् ।