१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जजिरापछि भैरहवामा उडान गर्ने दोस्रो अन्तर्राष्ट्रिय वायुसेवा हंगेरीको ‘विज एयर’

सरकारसँग अबुधाबी–भैरहवा उडान गर्न माग्यो अनुमति, ३० अक्टोबरदेखि सातामा तीन उडान गर्ने प्रस्ताव, सातामा तीन दिन उडान गरिरहेको कुवेतको जजिरा एयरवेजले १५ सेप्टेम्बरदेखि दैनिक एक उडान गर्दै

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३२:oo

हंगेरीको वायुसेवा कम्पनी विज एयर भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा हुने भएको छ । युएईको राजधानी अबुधाबीबाट भैरहवा सीधा उडान गर्न विज एयरले यसै हप्ता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको हो ।३० अक्टोबरदेखि अबुधाबी–भैरहवा सातामा तीन दिन उडान गर्न विज एयरले अनुमति मागेको जिबिआइएका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । युरोपेली देश हंगेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलाइन्स विज एयरले मध्यपूर्व एसियाको दुबईलाई हब (आधार) बनाएर उडान गर्दै आएको छ । 

विज एयरले दुई सय ३९ सिट क्षमताको एयरबस–३२१ नियो जहाजबाट अबुधाबी–भैरहवा उडान गर्ने प्रस्ताव गरेको हो । मन्त्रालयले भैरहवाका लागि ‘अपरेटिङ अथराइजेसन’ दिएपछि विज एयरले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग ‘स्लट’को अनुमति लिनुपर्छ । क्यानले ‘स्लट’ दिएपछि बल्ल अबुधाबी–भैरहवा–अबुधाबी हवाई टिकट बुकिङ सुरु गर्नेछ । विज एयरले नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल कम्पनीलाई नियुक्त गरेको छ । ‘विजले सोमबार, बुधबार र शनिबार सातामा तीन दिन अबुधाबी–भैरहवा उडान गर्ने प्रस्ताव मागेको छ,’ उनले भने, ‘मन्त्रालयले स्वीकृति दिएपछि क्यानले स्लट दिनासाथ उडान थाल्ने उसको तयारी छ ।’

जजिराले दैनिक उडान गर्ने
२ जेठ ०७९ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ । भैरहवाबाट नियमित उडान गरिरहेको जजिराले दुईतर्फी नै राम्रै यात्रु पाइरहेको महाप्रबन्धक दाहालले बताए । यात्रुको चाप राम्रो भएपछि जजिराले १५ सेप्टेम्बरदेखि दैनिक एक उडान गर्न लागेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा जजिरा एयरवेजको पनि जनरल सेल्स एजेन्ट (जिएसएस) कम्पनी सोसाइट इन्टरनेसनल ट्राभल नै हो ।भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न अन्य एक दर्जन विदेशी वायुसेवा कम्पनीहरूसँग छलफल भइरहेको  महाप्रबन्धक दाहालले बताए ।  उनले भने, ‘सन् २०२२ भित्र चारवटा अन्तर्राष्ट्रिय वायुसेवाले भैरहवा उडान गर्ने हाम्रो अपेक्षा छ ।’  

एयर अरेबिया र फ्लाई दुबईले भैरहवा उडान गर्न विशेष चासो देखाएको जिबिआइएका प्रवक्ता श्यामकिशोर शाहले बताए । एयर अरेबियाले एक दिन अबुधाबी र एक दिन सारजाँहबाट सातामा सातै दिन उडान गर्ने तयारी गरेको छ । पश्चिम नेपालबाट वैदेशिक रोजगारीमा जाने यात्रुलाई लक्षित गरेर श्रम गन्तव्य मुलुकका वायुसेवाहरूले भैरहवा उडान गर्न चासो देखाएका हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेका लागि भिसा प्रोसेस र स्वास्थ्य जाँचबाहेक सम्पूर्ण सेवा भैरहवाबाटै उपलब्ध हुन थालेको छ । त्यसले पनि भैरहवा उडानमा आकर्षण देखिन थालेको दाहालले बताए । छिट्टै कामदारको स्वास्थ्य जाँचको सुविधा पनि भैरहवामै उपलब्ध हुने उनको भनाइ छ ।

क्यानले नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न एक वर्षका लागि भारी छुट दिएको हो । १४ जेठ ०७९ मा नयाँ विमानस्थल सेवाशुल्क नियमावली, २०७८ लागू भएपछि एक वर्ष (जेठ ०८०)सम्म अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले भैरहवामा ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र सेक्युरिटी शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । 

न्यारोबडी जहाज भैरहवा उडान गर्दा काठमाडौंको तुलनामा प्रतिउडान एक लाख रुपैयाँसम्म छुट पाउने प्रवक्ता शाहको भनाइ छ । यस्तै, काठमाडौंको तुलनामा भैरहवाबाट पश्चिम उडान गर्दा झन्डै २० मिनेट छिटो हुने हुँदा जहाजको अपरेटिङ कस्ट पनि घट्न जान्छ । जजिरा एयरवेजमार्फत भैरहवा–कुवेत उडान गर्दा यात्रुलाई काठमाडौंको तुलनामा झन्डै आठ हजार रुपैयाँ कम भाडा लाग्ने गरेको ट्राभल कम्पनीको भनाइ छ । 
 

ad
ad