मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०७९ श्रावण ११ बुधबार २१:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको गुइबन बस्ती पहिरोको उच्च जोखिममा, आफ्नाे आवाज कसैले नसुनेकाे स्थानीयकाे गुनासाे

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ श्रावण ११ बुधबार २१:४८:००

बाजुराको खप्तड छेडेदह गाउँपालिका– ४ को गुइवन बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।  विगत केही वर्षदेखि पहिरो आउन थालेपछि गुइबन बस्तीका १ सय ५० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा छन् । 

वर्षाको समयमा हरेक वर्ष पहिरोले जमिन कटान गर्दै जाँदा गुइबन बस्ती विगतका वर्षमा जस्तै पहिरोको उच्च जोखिममा रहेको स्थानीय नरबहादुर धामीले बताए । उनका अनुसार पहिरोका कारण ३० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित भएर अन्यत्र सरेका छन् ।  ‘यो पहिरोको मुखमा रहेको घर छोडेर अन्य ठाउँ जाऊँ भने पनि आफूसँग जग्गा जमिन छैन। पहिरोको मुख नजिकैको घरमा बस्नुबाहेकको अर्को विकल्प छैन,’ उनले भने । 

गुइबन पहिरोपीडित  ८० वर्षीय खिरी धामीले हरेक वर्ष पहिरो बग्ने हुँदा आफूहरू रातभरि त्रासमा बस्ने गरेको बताइन् । उनले भनिन्, ‘घरको अगाडि र पछाडि पूरै चर्किएको छ ।  घर तलबाट रात दिन पहिरो बगिरहेकाले धेरै पानी परेको दिन घरबाहिर आएर रातभरि नसुतीकन बस्नुपर्छ ।’ अहिले गुइबनका करिब  १ सय ५० परिवारमध्ये ५० परिवार उच्च जोखिममा  छन्।  पहिरोको उच्च जोखिममा बस्दै आएका परिवारको व्यवस्थापनका लागि अहिलेसम्म यस जिल्लाका सोरोकावाला निकायहरूले कुनै वास्ता नगरेको पहिरोपीडित परिवारको गुनासो छ । स्थानीय सरकार, जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरका नेता तथा केन्द्र सरकारलाई पटक-पटक बस्ती स्थानान्तरणको माग गर्दा कसैले पनि नसुनेको पहिरोपीडित रूपेश धामीले बताए ।  

खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भने बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले जिल्ला दैवीप्रकोप समन्वय समितिमार्फत केन्द्रसम्म कुरा गरिसकेको र तत्काल पहिरोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यका साथ पहिरो आसपासका परिवारलाई सुरक्षित ठाउँमा केही महिनाको लागि अस्थायी टहरा लगाएर बसाउने व्यवस्थाका लागि गाउँपालिकाले तयारी गरेको बताए ।