१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेल खरिदबापतको १६ अर्ब ८० करोड बक्यौता आइओसीलाई भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२o:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदबापत बक्यौता रहेमध्ये १६ अर्ब ८० करोड रुपैयाँ मंगलबार इन्डियन आयल कर्पाेरेसन (आइओसी)लाई भुक्तानी गरेको छ । यो रकम भुक्तानी गरेपछि बक्यौता १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई वर्षदेखि निरन्तर मूल्यवृद्धि हुँदा आइओसीले बढेको दरमा नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको छ । तर, नेपाली बजारमा राजनीतिक दबाबका कारण निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दा घाटा खाएर इन्धनको मूल्य बिक्री गर्दै आएको छ । जसकारण बजारबाट उठेको पैसाले तेल खरिद गरेको रकम तिर्न आयल निगम असमर्थ भई बक्यौता रहँदै आएको छ । 

निगमको नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार सोमबारसम्म आइओसीको बक्यौता ३१ अर्ब २० करोड रुपैयाँ थियो । ‘मंगलबार दिउँसो १६ अर्ब ८० करोड पठाएपछि बक्यौता केही तल झरेको छ,’ साहले भने । आयल निगमले सरकार र बैंकबाट लिएको ऋण तथा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताबापत पाएको रकमबाट आइओसीको बक्यौता भुक्तानी गरेको हो । 

निगमलाई आइतबार सरकारले ५ प्रतिशत ब्याजदरमा सात अर्ब रुपैयाँ ऋण दिएको थियो । त्यस्तै, सरकार जमानी बसेर राष्ट्रिय वाणिज्य बैंकबाट ९ प्रतिशत ब्याजदरमा सोमबार तीन अर्ब रुपैयाँ ऋण लिएको थियो । भ्याट फिर्ताबापत आन्तरिक राजस्व विभागबाट साढे तीन अर्ब रुपैयाँ लिएको थियो । बजारमा तेल बेचेर उठेको पैसासमेत थपेर आइओसीलाई बक्यौता कम गर्न पैसा पठाएको निगमले जनाएको छ ।

ठूलो रकम बक्यौता रहँदा आइओसीले तेल दिन आनाकानी गरेपछि निगमले हतारमा १६ अर्ब ८० करोड पठाएको हो । सामान्यतया निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा तेल खरिदबापतको रकम आइओसीलाई भुक्तानी दिने गरेको छ । हतार गरेर बक्यौता घटाउने गरी निगमले मंगलबार पैसा पठाएपछि इन्धन आपूर्तिमा तत्काल कुनै समस्या नहुने निगमले जनाएको छ । 

ad
ad