मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३१ शुक्रबार ०६:११:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसदमा गभर्नरको राजीनामा माग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३१ शुक्रबार ०६:११:००

अर्थ तथा योजना विभागको सदस्य रहेका ‘एम अधिकारी’ खोटाङका सिए मनोज अधिकारी भएको र साउन पहिलो साता बस्ने विभागको पहिलो बैठकमा सहभागी हुने एमालेको दाबी । तर, एमालेले दाबी गरेका मनोज अधिकारी स्वयं भने यत्रो विवाद हुँदा पनि सार्वजनिक रूपमा केही बोलेका छैनन्

एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै संसदमा सत्तारूढ दलका सांसदहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा र छानबिनको माग गरेका छन् । दबाबमा परेको एमालेले विभागको सदस्य रहेका ‘एम अधिकारी’ खोटाङका सिए मनोज अधिकारी भएको प्रस्टीकरण दिएको छ । तर, एमालेले दाबी गरेका मनोज स्वयं भने यत्रो विवाद हुँदा पनि सार्वजनिक रूपमा केही बोलेका छैनन् ।

अर्थ विभागमा खोटाङका ‘एम अधिकारी’ सदस्य रहेको सार्वजनिक भएपछि गभर्नर अधिकारी विवादमा मुछिएका थिए । उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको जानकारीसहित पत्र लेखेरै जवाफ मागेपछि एमालेले जवाफी पत्र पठाउँदै ‘एम अधिकारी’ फरक व्यक्ति भएको प्रस्टीकरण दिएको हो । साउन पहिलो साताभित्र बस्ने विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने एमालेको भनाइ छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा माओवादी सांसद नारायणकाजी श्रेष्ठले भरपर्दो प्रमाण प्रस्तुत गर्न नसके छानबिनका लागि गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरे । ‘एमालेको अर्थ तथा योजना विभागको एकजना सदस्य, जो ०७३ मा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही व्यक्तिलाई अहिले एम अधिकारीमा रूपान्तरण गरेर अर्थ तथा योजनाविद् भनेर राखिएको छ,’ श्रेष्ठले भने, ‘अब कमसेकम विवाद, अन्योल भयो भनेर उहाँले राजीनामा दिनु वा पद छोडिदिनु वेश हुन्छ ।’

बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापा, मीन विश्वकर्मा, रेखा शर्मा, अञ्जना विसुंखे, गजेन्द्र महतलगायतले पनि राजीनामा माग गरेका थिए । 

थापाले मौद्रिक नीति मुलुकको अर्थतन्त्र सुधार्ने गरी आउनुपर्ने माग गर्दै गभर्नर अधिकारीमाथि गम्भीर नैतिक प्रश्न उठाएर व्यंग्य गरेका थिए । ‘मैले गरेको यो सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु,’ थापाको भनाइ थियो । 

सत्तारूढ माओवादीका दुई भ्रातृ संगठनले गभर्नर अधिकारीमाथि छानबिन र राजीनामाको माग तेस्र्याएर आन्दोलन सुरु गरेको छ । वाइसिएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर अधिकारीले आफ्नो योग्यता ढाँटेको र पार्टी सदस्य भएर कानुन उल्लंघन गरेको दाबी गर्दै छानबिनका लागि उजुरी दर्ता गराएको छ । त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीले राजीनामा माग्दै माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेको छ । 

एमालेले खुलायो एम अधिकारीको थप परिचय 

खोटाङका सिए मनोज अधिकारी अर्थ विभागको अबको बैठकमा सहभागी हुने दाबी 
अर्थ विभागको सदस्यमा राखिएका ‘एम अधिकारी’ चार्टर्ड एकाउन्टेन्ट मनोज अधिकारी भएको एमालेले स्पष्ट पारेको छ । साउन पहिलो हप्ताभित्र बस्ने विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने एमालेले बताएको छ । 

‘अर्थ तथा योजना विभागमा रहनुभएका एम अधिकारी चार्टर्ड एकाउन्टेन्ट मनोज अधिकारी हुनुहुन्छ, उहाँको पहिले घर खोटाङ हो, अहिले कामको सिलसिलामा विराटनगरमा बस्नुहुन्छ,’ एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पार्टीले १० साउनअघि सबै केन्द्रीय विभागको बैठक राख्ने योजना बनाइसकेको छ, त्यसअनुसार मनोज कमरेड पनि अब बस्ने विभागको पहिलो बैठकमा सहभागी हुनुहुनेछ ।’ एमालेले पछिल्लो केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय विभाग विस्तार गरेको थियो । सचिवालयको निर्णय जानकारी गराउन १९ असारमा जारी भएको आन्तरिक सर्कुलरमा विभागमा एम अधिकारीको नाम पनि समावेश थियो । 

कार्यालय सचिव अधिकारीले मनोज अधिकारी पार्टीमा सक्रिय रूपले काम गरेको व्यक्तित्व भएको भन्दै बाहिर अनावश्यक भ्रम फिँजाएर एमालेलाई बदनाम गर्न खोजिएको दाबी गरे । ‘उहाँ (मनोज) हाम्रो पार्टीको संगठित र क्रियाशील व्यक्ति हो, यसअघि पार्टीको पेसागत विशेष जिल्ला कमिटी, काठमाडौंमा बसेर कामसमेत गरिसक्नुभएको छ,’ उनले भने । 

एमाले पेसागत विशेष जिल्ला कमिटी काठमाडौंका अध्यक्ष उमेश ढकालले चार्टर्ड एकाउन्टेन्ट अधिकारी जिल्ला कमिटी सदस्य रहेको दाबी गरे । ‘उहाँले जिल्ला कमिटीमा बसेर काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘अरू कुरा मलाई जानकारी छैन ।’ 

गभर्नरलाई एमालेको प्रस्टीकरण– एम अधिकारी तपाईं होइन 
एम अधिकारीको थप परिचय खुलाउनुअघि एमालेले गभर्नर अधिकारीलाई पत्र लेख्दै एमालेले अर्थ विभागमा उल्लेखित एम अधिकारी फरक व्यक्ति रहेको प्रस्टीकरण दिएको थियो ।

‘हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्ति रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विभागमा उल्लेखित एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु,’ कार्यालय सचिव डा. भीष्म अधिकारीले पठाएको पत्रमा भनिएको छ । 

बुधबार गभर्नर अधिकारीले एमालेलाई पत्र लेख्दै एम अधिकारीबारे भ्रम सिर्जना भएकाले स्पष्ट पार्न आग्रह गरेका थिए । ‘त्यस पार्टीका अर्थसम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी (खोटाङ) सदस्य रहेको भनी सोसियल मिडिया तथा अन्य सञ्चारमाध्यमबाट जानकारी भयो । उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सिर्जना भएको देखिन्छ । म सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यहोरासमेत अनुरोध गर्दछु,’ अधिकारीले एमालेलाई स्पष्ट पार्न आग्रह गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘यसरी राजनीतिक पार्टीमा आबद्ध नरहेको तथा गभर्नरजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टीविशेषको कुनै समितिमा रहने–बस्ने भन्ने कल्पनाबाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सिर्जना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’