१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २७ सोमबार १७:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका ७० प्रतिशत उम्मेदवार युवा हुनुपर्छ : नेता महर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २७ सोमबार १७:०२:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ७० प्रतिशत उम्मेदवारमा युवा पुस्तालाई अघि सार्नु पार्टीका लागि हितकर हुने बताएका छन् ।  ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा महरले पार्टीले युवापंत्तिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाब दिएका हुन् । 

‘कांग्रेसमा चारपुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचन हाम्रा लागि सहज हुन्छ। एउटा ६० वर्षमाथिको पुस्ता छ, अर्को ६० देखि ४५ सम्मको पुस्ता छ। तेस्रो, ३० देखि ४५ र अर्को ३० मुनिको पुस्ता छ,’ महरले भने, ‘संविधानले नै २५ वर्षमाथिका व्यक्तिलाई उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको छ । आसन्न निर्वाचनमा २५ देखि ६० वर्ष उमेर समूहका ७० प्रतिशत व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ ।’

महरले पार्टीका क्रियाशील रहेको ठूलो समूह युवा नै भएकाले उनीहरूको मनोभावना बुझ्नुपर्ने बताए । ३२ वर्षमुनिका मतदाताले मतपरिणामलाई धेरै तलमाथि पार्न सक्ने देखिएकाले युवामाझ लोकप्रिय बन्ने गरी पार्टी अघि बढ्नुपर्ने उनको सुझाब छ । 

नेता महरले पार्टीभित्र केही नपाएको पुस्तालाई पनि सम्झाउनुपर्ने चुनौती रहेको बताए । उनीहरूलाई ३० प्रतिशतभित्र समेटेर उचित स्थान दिनुपर्ने उनको भनाइ थियो । ‘यसरी रणनीतिक रूपमा अघि बढ्यो भने पार्टीमा द्वन्द्व पनि हुँदैन । सबै अट्ने बाटो पनि हुन्छ,’ उनले भने । पार्टीले जनताका मुद्दा उठाएर उनीहरूकै माझमा रहेर काम गर्न सके मात्रै प्रदेश र केन्द्रको निर्वाचन सहजै जित्न सकिने उनले बताए । स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई देश र पार्टीका लागि बढी जवाफदेही बनाउनुपर्ने महरको भनाइ थियो । 

गठबन्धनका विषयमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उनले बताए । ‘अहिले कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन बाह्य शक्तिहरू पनि सक्रिय छन् । केही मानिसहरूको आवतजावत पनि बढिरहेको छ । यस्तो अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ,’ महरले भने, ‘यस्तो अवस्थामा पार्टी एकल रूपमा निर्वाचन लड्न पनि पूर्ण रूपमा तयार रहनुपर्छ । यस्तो वेला हामीले गठबन्धन भए कसरी जाने नभएर कसरी जाने भन्ने विषयमा छलफल गर्नुपर्छ ।’