१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १० सोमबार
  • Monday, 22 April, 2024
बद्रीनरसिंह केसी
२०८० फाल्गुण ३ बिहीबार ०६:३४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओरालोमा नेपाली कांग्रेस

संसद्को सबभन्दा ठूलो पार्टी भईकन पनि आजको नेपाली कांग्रेस जीवनमरणको सन्धिस्थलमा पुगेको छ

Read Time : > 4 मिनेट
बद्रीनरसिंह केसी
२०८० फाल्गुण ३ बिहीबार ०६:३४:००

सिद्धान्तहीन सत्ता ‘गठबन्धन’को अहोरात्र भक्तिगान गर्दागर्दै नेपाली कांग्रेसका सभापतिदेखि मूर्धन्य नेतागणसम्मले संसद्को सबभन्दा ठूलो पार्टी कांग्रेस हो भन्ने हैसियत बिर्सिसके । प्रतिनिधिसभामा जम्माजम्मी ३२ स्थान भएको माओवादीले ८९ स्थान भएको कांग्रेसलाई आफ्नो स्वार्थ र रणनीतिअनुकूल घुमाइरहेको छ । स्थापनाकालदेखि सँगाल्दै आएका मौलिक सिद्धान्त, संस्थापक राजनेताहरूका दूरगामी चिन्तन र व्याख्याले परिमार्जन गर्दै ल्याएका र यसैको जगमा युगान्तकारी आन्दोलन वा संघर्ष गरेको कांग्रेस आज पौरखी पार्टीको हैसियत गुमाएर प्रकारान्तरले याचक वा आशामुखी अवस्थामा पुगेको छ ।

ठूलो पार्टी भईकन पनि कांग्रेस जीवन वा मरणको सन्धिस्थलमा पुगेको छ । यसो किन भयो ? भन्ने प्रश्न स्वतः उठ्छ । नीति महाधिवेशनको समेत आवश्यकता पूरा गर्ने भनिएको आसन्न कांग्रेस महासमिति बैठकले यस प्रश्नको उत्तर दिन सक्नुपर्छ । त्यसका लागि कांग्रेसभित्र देशव्यापी बहस चल्नुपर्ने हो । तर, त्यहाँ बहस र विचारको मुर्दाशान्ति छाएको अवस्था छ । 

पाँचपटक प्रधानमन्त्री भइसकेका, पहिलोदेखि हरेकपटकको कार्यकालमा देश, जनता र आफ्नै पार्टीका लागि घातकसिद्ध भएका क्रियाकलापबाहेक कुनै योगदान पुर्‍याउन नसकेका सभापति शेरबहादुर देउवाका लागि छैटौँ प्रधानमन्त्रीकाल पत्नीको राजनीतिक व्यवस्थापन र चाँजोपाँजो मिलाउन मात्र आवश्यक भएको हो भन्ने स्वतः बुझिन्छ ।

प्रधानमन्त्री बनाउन नयाँ पुस्तालाई अगाडि बढाउने पक्षमा उनी कदापि छैनन्, छैटौँपटक पनि उनैलाई प्रधानमन्त्री पद चाहिएको छ । पत्नीकै लागि महिलाबाट एकजनालाई पार्टी महामन्त्री बनाउन पार्टी विधान संशोधन गरी तीन महामन्त्रीको व्यवस्था गर्नेतिर उनको एकाग्रता रहेको घटनाक्रम र गतिविधिले बताउँदै छ ।

घरको एउटा ठूलो कोठाभरि स्रोत नखुलेको, पदीय दुरुपयोग भएको, खर्बौंको कालोधन लुकाएको ‘हल्ला’ समाजको सचेत वर्गमा मात्र होइन, संसद्मा समेत चर्चा र सोधखोजको विषय बनेकै हो, जुन सन्दर्भ अझै सेलाएको छैन । यत्रो हंगामा मच्चिँदा पनि सम्बन्धित व्यक्ति/पक्षले प्रतिवाद नगरी मौनव्रत लिनुले प्रकारान्तरमा हल्लाको पुष्टि भएको महसुस हुँदै छ । यसबारे नेपाल प्रहरीले छानबिन गर्न लाग्दा अनुसन्धान अधिकृतलाई पाँच महिना पनि काम गर्न नपाउँदै सरुवा गरेको घटनाले पनि सो हल्लालाई पुष्टिको बल पुर्‍यायो ।

टीकापुरको सरकारी जग्गा हडप्ने एक हुलमा सभापति पत्नीसमेत साढे तीन कठ्ठा जग्गा आफ्नो स्वामित्वमा दर्ता गरेको विवादबाट मुक्त छैनन् । यस्ता अनगिन्ती विवाद र अभियोगबाट सफाइ पाइनसकेकी पत्नीको आकांक्षा पूरा गर्न मात्र सभापति देउवालाई वयोवृद्ध अवस्थामा सत्ताको ‘हरियो काँक्रो’ चाहिएको देखिन्छ । 

कांग्रेस आफ्नो स्थापित सिद्धान्तबाट पथभ्रान्त भइरहेको छ । देशमा दण्डहीनता र भ्रष्टाचार मौलाइरहेको छ । युवापुस्ता देशभित्र बस्न नसकेर पलायन भइरहेको छ । महासमिति बैठकले यस्ता समस्यालाई आफ्नो एजेन्डा बनाउन सक्छ कि सक्दैन ? सबैले हेरिरहेका छन् ।
 

पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट राजनेताको उचित इमानदार व्यवहार र भूमिका खोजिनु नाजायज होइन । वर्तमान पुस्ता चुप लागे पनि इतिहास चुप लाग्न सक्दैन, न त इतिहास लेख्ने हातलाई कसैले रोक्न नै सक्छ । भावी पुस्ताले बदनाम पुर्खालाई श्रद्धापूर्वक सम्झिन सक्दैन । आवारा र अपराधीलाई मात्र भावी पुस्ता र इतिहासप्रति डर हुँदैन । बिपी कोइराला आफू मरेपछि आफ्नाबारे अनर्गल र भ्रामक प्रचार गरिएला भन्नेमा गम्भीर रूपमा सचेत हुनुहुन्थ्यो । 

उहाँमा आफूलाई लागेको प्राणघातक रोग क्यान्सरको डर नभए पनि आफ्नाबारे फैलिन सक्ने निराधार भ्रमको भने बढी नै डर थियो । उहाँले भन्नुभएको थियो, ‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाबारे व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । कांग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु ।

राष्ट्रियताको विषयमा, आर्थिक विषयमा र समाजवादी व्यवस्थाको विषयमा मेरो अडानका निरन्तरता छन् । हिन्दुस्थानका बारेमा, राजाका बारेमा र संसारसँगको सम्पर्कबारे मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैँ उल्लेख गर्ने गरेको छु ।’ (जेल जर्नल) । नेपाली कांग्रेस र बिपीलाई देउवा नेतृत्वले बिपीले भनेकै अवस्थातिर घिसारिरहेको छ । पार्टीमा बिपीको फोटो राखिन्छ, माला चढाइन्छ । तर, ओठेभक्ति देखाएर उहाँका विचारको आज जुन निर्मम हत्या भइसकेको छ, त्यसको सबैभन्दा ठूलो जिम्मेवार सभापति देउवा नै हुन् । जुन वेला नेपाली कांग्रेस अन्य पार्टीझैँ प्रतिबन्धित थियो, तर पञ्चायतले कांग्रेसलाई ‘अराष्ट्रिय तत्व’ भनेको र कम्युनिस्ट पार्टीहरूले कांग्रेसलाई नै ‘वर्गशत्रु’ घोषणा गरेर शत्रुवत् व्यवहार गरिरहेको अवस्थामा पनि कांग्रेसका आवाजको सुनवाइ हुन्थ्यो । पञ्चायत वा कम्युनिस्ट शिविर, सबैतिरबाट त्यसका प्रभाव, प्रतिक्रिया र परिणाम आउँथे । 

आज संसद्को सबभन्दा ठूलो दल हुनुका साथै कांग्रेससमेत सामेल भएर ल्याएको राजनीतिक व्यवस्था र सत्तारुढ अवस्था भए पनि कांग्रेस नेतृत्वको बोलीको किन मूल्य रहन छोड्यो ? हालै राजधानीमा भएको पार्टीको एक कार्यक्रममा प्रमुख अतिथि सभापति देउवाले भाषण गर्ने वेलामा सबैजसो श्रोता उठेर हिँडेपछि पूर्ववक्ताहरूले लामो बोलेकाले श्रोताहरू आफूले बोल्ने पालोमा हिँडे भनेर स्वभावगत रूपमा राम्रैसँग रिसाएछन् । निर्वाचनको समयमा उम्मेदवारसँग भेट हुँदा ‘तिम्रो जिल्लामा मलाई बोलाऊ’ भन्लान् भनेर उनीसँग भेट नगरेर ‘तर्की हिँड्नुपरेको बाध्यता’ धेरैले सुनाएका थिए । कांग्रेसका हरेक कार्यक्रम वा जनसभामा उनी जहाँ–जहाँ जान्छन्, त्यहाँ–त्यहाँ कांग्रेसको समर्थन वा लोकप्रियता उनकै बोलीले घटाउने गरेको तथ्य धरातलीय वास्तविकता हो ।  

उसो भए के एउटा सभापति गलत हुँदैमा त्यस पार्टीको जीवन र भविष्य समाप्त भइहाल्छ त ? त्यस्तो अतिशयोक्ति यी पंक्तिको आशय होइन । देउवा कांग्रेसका सभापति हुन् तर उनी नै कांग्रेस होइनन् । त्यस पार्टीमा कांग्रेसको इतिहास, आदर्श, संस्कार र प्रजातान्त्रिक कार्यशैली जानेका, निष्ठा र समर्पण भावका साथ उठेका, लोकप्रिय, धेरै सुयोग्य र होनहार युवानेता छन् ।

महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालगायत प्रदीप पौडेलजस्ता स्थापित र लोकप्रियता लिइसकेका नेता छन्, जसले कांग्रेसको अस्तित्व, मर्यादा र भूमिका बुझेका छन् । केही गर्नुपर्छ भन्ने चेतनाले घचघच्याइरहेका र गर्न सकिने योग्यता र आत्मविश्वास पनि बोकेका छन् । कार्यकर्ताले पनि यिनै नेतालाई रुचाएको देखिन्छ । तर, उनीहरूले प्रतिक्रियात्मक (रियाक्टिभ) गतिविधिमा भन्दा सक्रियतात्मक (प्रोएक्टिभ) गतिविधिमा आफूलाई प्रवृत्त गर्नु जरुरी छ । अब पनि बिपी विचारधारामा पार्टीलाई हिँडाउन सकेनन् र अक्षम नेतृत्वप्रति डरको पुट बोकिरहे भने उनीहरू नक्षत्रझैँ स्थायी होइन, उल्काझैँ अल्पकालीन हुनेछन् ।

आसन्न महासमितिको बैठकलाई कसैको निहित स्वार्थ पूरा गर्ने मैदान बनाउने होइन, देश, जनता र लोकतन्त्रको उच्चतम हितको पक्षमा उपयोग गर्न सक्नुपर्छ । आफ्नो मौलिक मध्यमार्ग र स्थापित सिद्धान्तबाट कांग्रेस पथभ्रान्त भइरहेको छ । यसलाई पूर्ववत् अवस्थामा फर्काएर गति दिने विषयमा निष्कर्ष दिन सक्नुपर्छ । दण्डहीनता र भ्रष्टाचारको अन्त्य तथा सुशासनका लागि जनताको एक मत र एक मन छ । युवापुस्ता उकुसमुकुसको अवस्थामा देशभित्र बस्न नसकेर विदेश पलायन भइरहेको छ । महासमिति बैठकले यस्ता समस्यालाई आफ्नो एजेन्डा बनाउन सक्छ कि सक्दैन ? सबैले हेरिरहेका छन् ।

संघीयताको औचित्य र आवश्यकता प्रमाणित गर्नुपर्ने नेपालका प्रदेशहरूमा दिनानुदिन संघात्मक व्यवस्थाको मूल्यमा अनेकौँ अवाञ्छित गतिविधि र अस्थिरताका खेल देखापरिरहेका छन् । त्यसलाई महासमितिको बैठकले उपेक्षा र अनभिज्ञता देखाउन पाउँदैन ।

संविधान, राजनीतिक व्यवस्था र ठूला दलहरू गणतन्त्रवादी छन्, तर जनतामा गणतन्त्र र राजतन्त्रको संक्रमणकालजस्तो राजतन्त्रवादीको चहलपहल बढिरहेको छ । छिमेकी भारतमा आमनिर्वाचन हुने वर्तमान पूर्वावस्थामा हिन्दुत्व लहरका रूपमा उठिरहेको छ । त्यस लहरको नेपालमा के परिणति हुन सक्छ ? इजरायल–हमास युद्ध बढ्दै गएर अरब मुलुकभरि द्वन्द्व फैलिने सम्भावनाबाट अन्य मुलुकले आवश्यक सतर्कता अपनाउन थालिसके ।

अरब मुलुकमा कार्यरत बीसौँ लाख नेपाली युवा सुरक्षाका कारणले स्वदेश फर्किनुपर्‍यो भने त्यसपछि देशको सामाजिक–आर्थिक अवस्था के होला ? के सोचेको छ देउवा नेतृत्वको कांग्रेसले ? शक्ति राष्ट्रबीचको स्वार्थको तानातानमा नेपालजस्ता मुलुक विदेशी भिडन्तको रणभूमि बन्ने सम्भावना हटाउन के गर्नुपर्छ ? यस्ता राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय मामिलामा कांग्रेस महासमिति बैठकले उचित सम्बोधन गर्न सक्यो भने मात्र त्यसको औचित्य रहला । अन्यथा, महासमिति सभापति देउवाको दाउ र षड्यन्त्रलाई वैधानिकता दिने हत्कण्डा बन्यो भने त्यसपछिका बिलौनाको कुनै अर्थ रहनेछैन भन्ने खबरदारी कांग्रेसजनले देखाउने वेला आएको छ ।