प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो ।
गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरू प्रभावित भएका थिए ।काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो ।
अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट उनले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गरे । दूरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रूपान्तरणका लागि ठूलो सहयोग पुगेको उनको भनाइ थियो। मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिए ।
काउन्सिलले रुकुम पश्चिमका १९ जना पत्रकार, आठवटा एफएम रेडियो र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । यस्तै, जाजरकोटका २४ जना पत्रकार, पाँचवटा एफएम रेडियो र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए । काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चारगृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो ।