मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार २६ आइतबार ०८:२६:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय निर्वाचनको अन्तर्घात खोतल्दै प्रमुख दलहरू

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार २६ आइतबार ०८:२६:००

एमाले र माओवादीले अन्तर्घात छानबिनका लागि समिति बनाए, कांग्रेस र एकीकृत समाजवादीले प्रतिवेदन तयार पारे

स्थानीय निर्वाचनमा पार्टीभित्रैका अन्तर्घातले केही ठाउँमा हार खाएको निष्कर्षसहित दलहरू आन्तरिक छानबिनमा जुटेका छन् । कतिपयले अन्तर्घात छानबिनका लागि समिति नै बनाएका छन् भने कतिपय दलभित्र छलफलकै तहमा छ । आसन्न प्रदेश र संघीय निर्वाचनमा अन्तर्घातको समस्या नबढोस् भनेर दलहरूले स्थानीय निर्वाचनको अन्तर्घातमाथि चासो राखेका हुन् । 

स्थानीय निर्वाचनमा दोेस्रो र तेस्रो शक्ति बनेका एमाले र माओवादी केन्द्रले अन्तर्घात छानबिनका लागि समिति बनाएका छन् । पहिलो शक्ति बनेको कांग्रेस र पाँचौँ शक्ति बनेको एकीकृत समाजवादीले निर्वाचनमा पार्टीभित्र देखिएका समस्याबारे प्रतिवेदन नै बनाएका छन् । 

एकीकृत समाजवादीले औपचारिक रूपमा छानबिन समिति बनाएको छैन । स्थानीय निर्वाचनको समीक्षा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा छ । बैठकमा केन्द्रीय निर्वाचन परिचालन समिति र त्यसअन्तर्गतका अनुगमन, मूल्यांकन र सुपरीवेक्षण समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । 

एमालेमा अन्तर्घात पत्ता लगाउन कार्यदल

एमालेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा भएको अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा केन्द्रीय निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र संगठन विभाग प्रमुख खगराज अधिकारी सदस्य छन् । कार्यदललाई स्थानीय तह निर्वाचन सम्बन्धमा परेका विभिन्न उजुरीको छानबिन गर्ने र आवश्यक कारबाही गर्ने कार्यादेश दिइएको छ । गत १९ असारमा बसेको सचिवालय बैठकले छानबिन समिति बनाए पनि हालसम्म बैठक बसेको छैन । समिति सदस्य खगराज अधिकारीले समितिमा रहेकोबारे आफूलाई जानकारी नै नभएको बताए । नयाँ पत्रिकासँग अधिकारीले भने, ‘छानबिन समितिमा म सदस्य भएको जानकारी नै छैन । अहिलेसम्म परिपत्र नै आएको छैन ।’ पार्टी निर्णयप्रति असन्तुष्टि हो भन्ने प्रश्नमा अधिकारीले भने, ‘म पार्टीप्रति प्रतिबद्ध छु । जानकारी नै नआएको विषयमा म कसरी भनूँ ।’

कांग्रेस केन्द्रीय समितिमा अन्तर्घातबारे छलफल हुँदै 

कांग्रेसले पनि स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित हासिल नहुनुमा आन्तरिक समस्यालाई कारण मानेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतका अनुगमन, मूल्यांकन र सुपरीवेक्षण समितिले अन्तर्घात नै नभने पनि निर्वाचनमा पार्टीभित्र समस्या देखिएको औँल्याएको छ । स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर कांग्रेस पहिलो शक्ति भएको छ । ‘प्रतिवेदनमा व्यक्ति तोक्नेभन्दा पनि प्रवृत्तिगत रूपमा विषय उल्लेख गरिएको छ,’ नेता प्रदीप पौडेलले भने, ‘कांग्रेसममा उम्मेदवार, प्रस्तावक र समर्थकभन्दा बाहेक कसले अन्तर्घात गर्‍यो भनेर प्रमाण जुटाउन गाह्रो छ । टिकट दिँदा न्याय भएन भन्ने गुनासा पनि छन् । कतिपय ठाउँमा विद्रोह नै पनि भएका छन् । कतिपय ठाउँमा थाहा नपाउने गरी अन्तर्घात पनि भएका छन् ।’

गठबन्धन कसिलो भएको र अन्तर्घात नभएको भए चार सय पालिका जित्ने दाबी प्रतिवेदनमा गरिएको छ । ५७ प्रतिशत पालिकामा कांग्रेस एक्लै निर्वाचन लडेको थियो । सम्पूर्ण शक्ति जिताउन लागेको भए कांग्रेसले अझै धेरै पालिका जित्ने पौडेलको तर्क छ । समितिको प्रतिवेदनमा उम्मेदवार छनोटमा विधानको विधि पूर्ण रूपमा पालना नगरिएको, उम्मेदवार चयन गर्दा कहीँकतै पनि निश्चित मापदण्ड नबनाइएको, उम्मेदवार समयमा नै तय हुन नसकेको र उम्मेदवार छनोट प्रक्रियामा सहकार्य नभएको साथै सहमति र सहअस्तित्वको मर्मबमोजिम कार्यान्वयन हुन नसकेको पार्टीका आन्तरिक समस्या रहेको औँल्याइएको छ । 

यसबाहेक टिकटका आकांक्षीलाई वैकल्पिक अवसर दिएर सक्रिय बनाउन नसकेको तथा निर्णय प्रक्रियामा सहभागी गराई सहमतिमा ल्याउन नसकेको र टिकट वितरण प्रक्रियामा तहगत समन्वय हुन नसकेकोलाई प्रतिवेदनमा पार्टीको आन्तरिक समस्याका रूपमा उल्लेख गरिएको छ । ठाउँ–ठाउँमा बागी उम्मेदवार पनि कांग्रेसका लागि समस्या बनेका थिए । प्रतिवेदनका रूपमा आएको विषयमा आगामी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने पौडेलले बताए । पौडेल नेतृत्वको समितिले पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिलाई प्रतिवेदन बुझाएको छ । उक्त समितिले प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नेछ ।

अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति
माओवादी केन्द्रले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराले भने, ‘विगतको स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट घातअन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपय केन्द्रीय समितिका सदस्यकै विरुद्धमा पनि कुरा उठेकाले अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।’ माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार समितिले १५ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउनेछ । प्रचण्डले बैठकको सुरुवात गर्दै अन्तर्घात छानबिन गर्न समिति, विद्यार्थी संगठनको समस्या सुल्झाउन सुझाव समिति र चुनावकेन्द्रित प्रदेश समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका थिए । स्थानीय निर्वाचनमा पार्टीभित्रैबाट घात–अन्तर्घात भएको आवाज केन्द्रीय समिति बैठकमा उठेको थियो । 

केन्द्रीय कमिटीबाट पारित अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गुटबन्दी, असहयोग र अन्तर्घातजस्ता पार्टीविरोधी गतिविधिको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्ने उल्लेख छ । कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा स्थानीय नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाका कारण समस्या भएको प्रचण्डले औँल्याएका थिए । यद्यपि, अनेक कारणका बाबजुद विगतको तुलनामा निर्वाचन परिणाम सन्तोषजक रहेको प्रचण्डको निष्कर्ष थियो ।

एकीकृत समाजवादीमा छलफल भयो, समिति बनेन 
एकीकृत समाजवादीले अन्तर्घातलाई प्रमुख विषय बनाएको छैन । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिँड्नेसमेत देखियो’ भन्ने  उल्लेख छ । 

एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ पार्टीमा अन्तर्घात नदेखिएको, तर टिकट नपाएर केहीले विरोध गरेको र केही एमालेमै फर्किएको बताए । ‘हाम्रो पार्टीमा अन्तर्घात देखिएन । पोखरा महानगरपालिकासहितका पालिकामा एमालेमा अन्तर्घात भएर हाम्रो पार्टीका उम्मेदवारलाई भोट आएको देखियो । गत स्थानीय निर्वाचनमा हाम्रा पार्टीका कार्यकर्ता अनुशासित नै रहे । त्यसैले अन्तर्घात पार्टी बैठकको एजेन्डा बनेन ।’

अन्तर्घातले १८ सिट गुमेको जसपाको निष्कर्ष
जसपाले निर्वाचनको अन्तर्घातबारे समीक्षा गरेको छैन । जसपाका संघीय सांसद तथा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले पार्टीभित्रको असन्तुष्टिका कारण १८ सिट गुमेको दाबी गरे । उनका अनुसार १८ पालिकामा दुई सय ५० भन्दा कम मतले जसपाका उम्मेदवार पराजित भएको र अन्तर्घातले मुख्य भूमिका खेलेको छ । 

‘आन्तरिक कलहका कारण हाम्रो पार्टीका केही नेता अन्य पार्टीमा गएर निर्वाचन लडे । बारा, धनुषा, सर्लाही र सिराहामा अन्तर्घातको समस्या धेरै देखियो,’ उनले भने । गठबन्धनका कारण समय कम पाएकाले सम्झाउन नसकिएको उनको भनाइ छ । ‘एउटाले टिकट पाउँदा अर्को रिसाउने स्थिति बन्यो । गठबन्धनका कारण तयारी गरेका साथीहरूले छाड्नुपर्ने अवस्था पनि बन्यो । समय कम भएकाले सम्झाउने अवस्था पनि भएन,’ उनले भने । तर, जसपा विभाजनको सँघारमा रहेकाले अन्तर्घातको घाउ केन्द्रीय समिति बैठकमा बल्झाउने पक्षमा नरहेको उनले बताए ।

लोसपाले मगायो अन्तर्घातको रिपोर्ट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्तर्घातबारे जिल्लासँग रिपोर्ट मागेको छ । रिपोर्ट प्राप्त भएपछि केन्द्रीय कार्यकारिणी समितिले आवश्यक निर्णय लिने नेता लक्ष्मणलाल कर्णले नयाँ पत्रिकालाई जानकारी दिए । ‘मानवीय गुण नै हो, अन्तर्घात त भइहाल्छ । पालिकास्तरमा कहाँ–कहाँ समस्या रहे भन्नेबारे हामीले जिल्ला–जिल्लाबाट रिपोर्ट मगाएका छौँ । केन्द्रीय कार्यालयले रिपोर्ट संकलन गरिरहेको छ । सबै रिपोर्ट प्राप्त भएपछि केन्द्रीय कार्यकारिणी समितिबाट निर्णय लिन्छौँ,’ उनले भने ।