
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका वेला उनले यस्तो बताएका हुन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले अहिले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा ढिलाइ हुन गएको बताए । मन्त्री कोइरालाले महाभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसद्को कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारी दिए ।
‘संसद्को बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पास भइसकेको छ । अब बजेट पास भइसकेपछि बाँकी रहेका विधेयकहरू आउँदै छन् । साथसाथै महाभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदै छौँ । संसदमा छलफल गराउने कुरामा कार्यव्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ,’ उनले भने, ‘अब त्यो धेरैबेर रहन्न । यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरू के–के हुन्, त्यो आरोपसँग सम्बद्ध प्रमाणहरू के–के हुन् ? त्यसबारे संसदमा व्यापक छलफल हुन्छ ।’
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदहरूले गत फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। प्रधानन्यायाधीश जबरा निलम्बित भए पनि उनकाे सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सम्हाल्दै आएका छन् ।