Skip This
मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Saturday, 27 July, 2024
२o७९ असार २० सोमबार १४:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १४:o३:oo

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बित्दासमेत मुगुका दुई गाउँपालिकाका ७९ विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। खत्याड गाउँपालिकाको ४० विद्यालय र सोरू गाउँपालिकाको ३९ विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या कायमै छ।

पाठ्यपुस्तकको जिम्मा लिएको ए–वान फेन्सी कलेक्सन एन्ड रारा सप्लार्यस र किरण जनरल फेन्सी  स्टोर एन्ड अर्डर सप्लायर्सले समयमै पाठ्यपुस्तक नपुर्‍याउँदा समस्या भएको हो। यसअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्णाली प्रदेशबाट जेठ ६ गते नै पाठ्यपुस्तक बिक्री–वितरणका लागि पत्राचार गरेको थियो।

खत्याड गाउँपालिकाको सर्वोदय विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएको सो विद्यालयको कक्षा १० मा अध्ययनरत विपना खत्रीले गुनासो गरिन्। ‘पुराना किताबको कुनै कोर्स मिल्दैन। तैपनि पुराना साथीहरूसँग मागेर चलाएका छौँ । पुस्तक कहिले आउँछ थाहा छैन,’ खत्रीले नयाँ पत्रिकासँग भनिन्, ‘बाजुराको धुलाचौर गएकी थिएँ, त्यहाँ पनि किताब पाइएन।’

पुस्तक नहुँदा आफूहरू अन्याेलमा परेको सोही विद्यालयको कक्षा १० मा अध्ययनरत मनीषा गिरीले बताइन्। पढाइ सुरु भएको लामो समय बिते पनि पुस्तक नहुँदा पढ्न असहज भएको उनको भनाइ छ। 

सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्रबहादुर कार्कीका अनुसार पाठ्यपुस्तक नआउँदा अध्यापन गराउनसमेत समस्या हुँदै आएको छ। पाठ्यपुस्तकको माग गर्दै विद्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको उनले जानकारी दिए। ‘जेठ महिनादेखि शैक्षिक सत्र सुरु भएको हो। गाउँपालिका र ठेकेदारले एक–आपसमा दोष मात्रै देखाउने गरेका छन्,’ उनले भने, ‘विद्यालयमा तीन सय आठ विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।’

गत जेठ ६ मा जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशले समयमै पाठ्यपुस्तक वितरण गर्न एक सूचना जारी गरेको थियो। तर, किरण जनरल फेन्सी स्टोरका प्रोप्राइटर उब्जन बुढाले जनक शिक्षाबाट पाठ्यपुस्तक छपाइ ढिलो भएकाले वितरणमा समस्या भएको बताएका छन्।

सोरू गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक निर्मल देवकोटा पटकपटक जनक शिक्षा केन्द्रमा ताकेता गरे पनि पाठ्यपुस्तक नआएको बताउँछन्।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका धनबहादुर केसीका अनुसार गत जेठ ६ मा हुम्ला र डोल्पा, जेठ ९ मा मुगु र कालिकोट, जेठ १० मा जाजरकोट तथा ११ मा दैलेखका लागि बिक्री–वितरण गर्न सूचना जारी गरे पनि मुगुबाट पाठ्यपुस्तक लिन नआएको बताए। ‘अरू जिल्लाबाट आएर लिइसके, तर मुगु जिल्लाबाट अहिलेसम्म लिएको छैन। असार २ गते बिल काटिसकेको छ, तर अहिलेसम्म पाठ्यपुस्तक उठाएका छैनन्,’ उनले भने।