
मनाङको चामे गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि सातवटा गौरवको आयोजना समेटेको छ । गौरवका योजनामध्ये लोकप्रिय माविका लागि ४५ लाख, गौरीशंकर आवासीय माविका लागि २० लाख, स्यार्कुस्थित शीतभण्डार निर्माणका लागि ७० लाख विनियोजन गरेको छ ।
यस्तै, चामे बजार खानेपानी विस्तार र ढल निकास आयोजनाका लागि एक करोड १० लाख, बसपार्क निर्माणका लागि २० लाख, चामे सिटी हल भान्छाघर र शौचालय निर्माणका लागि ३० लाख, विद्युत् आयोजनाका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँसभामार्फत आव ०७९/८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको बजेट विनियोजन गरेको हो । गाउँपालिकाले आगामी आवका लागि चालूतर्फ १० करोड १४ लाख ९७ हजार र पुँजीगततर्फ २१ करोड २२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।