मिटरब्याजी रामदेवविरुद्ध पीडितको प्रदर्शन, कारबाहीको माग गर्दै अदालत परिक्रमा

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

सप्तरीका मिटरब्याजी रामदेव शाह तेलीको अत्याचारबाट पीडित भएकाहरूले आइतबार सप्तरी जिल्ला अदालतआगाडि प्रदर्शन गरेका छन्। मिटरब्याजी शाहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले र्यालीसहित नाराबाजी गर्दै बजार परिक्रमा गरेका हुन्। 

‘ऋण तिरिसकेको जग्गा फिर्ता गर’, ‘बलात्कारी रामदेव शाहलाई कारबाही गर’, ‘गैरकानुनी कार्यमा सलंग्न शाह परिवारलाई कारबाही गर’ लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जुलुस निकालेका थिए।

न्याय नपाए आफूहरूको उठिवास नै हुनुपर्ने अवस्था आउने भएकाले बाध्य भएर संघर्षको सहारा लिनुपरेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए । उनले भने, ‘न्यायका लागि पहल गरिदिनुहुन सबैमा आग्रह छ ।’

नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएलगत्तै प्रहरीले रामदेव शाह तेलीका छोरा नन्दकिशोरलाई गत जेठ २७ सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट  पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश शाह फरार छन्।
 

सुझावित समाचार