मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेल्वे विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १५:२४:oo

राष्ट्रिय सभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो । 

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए। अर्की संशोधनकर्ता सांसद डा. विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुईजना स्वतन्त्रविज्ञ राख्नुपर्ने बताइन् ।

सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि संकुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए । रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए । 

विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताइन् । राष्ट्रिय सभाको अर्को बैठक असार २० का लागि बोलाइएको छ । रासस