मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७९ असार १७ शुक्रबार १३:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजेश हमालले किन गरे प्रचण्डसँग भेट ?

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७९ असार १७ शुक्रबार १३:०२:००

शुक्रबार फिल्म उद्योगका लागि विशेष दिन हो । धेरैजसो निर्माता–निर्देशक यही दिन पारेर फिल्मको शुभमुहूर्त गर्छन् । प्रिमियर शो बिहीबार गरे पनि सबै फिल्मले सार्वजनिक प्रदर्शनका लागि शुक्रबार नै रोज्छन् । अर्थात्, फिल्महरू शुक्रबार रिलिज गरिन्छन् । यहाँ शुक्रबारको चर्चा किन गरिएको हो भने, आज अर्थात् शुक्रबार बिहानै राजेश हमाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास पुगे
 

राजेश हमाल नेपाली फिल्म उद्योगका सर्वाधिक लोकप्रिय नायकहरूमध्येका एक हुन् । अहिले पनि हमालका लाखौँ फ्यान फलोअर छन् । अन्य अभिनेताहरूको तुलनामा यिनको फ्लान फलोइङ निकै सशक्त देखिन्छ । त्यसैले एकाबिहानैको उनको प्रचण्डसँगकाे भेट भाइरल हुन पुग्यो । प्रचण्ड र हमालको एक्लाएक्लै तथा उनीहरूसँगै संगीतकार चेतन सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल दायाँ–बायाँ उभिएको तस्बिर पनि भाइरल भयो । संगीतकार सापकोटाले सामाजिक सञ्जालमा ‘नेपाली राजनीतिका नायक र नेपाली चलचित्रका नायक’बीच भेटवार्ता भन्दै तस्बिर राखेपछि भेटवार्ताको खबर सार्वजनिक भएको हो ।

भेटको संयोजन गरेका संगीतकार सापकोटाले प्रचण्ड र हमालबीच समसामयिक राजनीति, नेपाली चलचित्रका समस्या र समाधानका उपायलगायतका विषयमा कुराकानी भएको जनाएका छन् । बिहान साढे आठ बजे प्रचण्डनिवास खुमलटार पुगेका हमाल ९ बजेर १० मिनेटमा निस्किएका थिए । सापकोटाका अनुसार भेटमा हमालले नेपाली चलचित्रका समस्याबारे प्रचण्डलाई जानकारी गराएका थिए । विदेशी मुद्रा सञ्चितिका लागि सरकारले विदेशी विलासिताका वस्तुहरूको आयातमा रोक लगाउने निर्णय गर्दा चलचित्र क्षेत्रतिर ध्यान नदिएको भन्दै हमालले अहिले पनि विदेशी चलचित्र निर्वाध चलिरहेको र त्यसले नेपाली चलचित्र उद्योगलाई असर पुर्‍याइरहेको बताएका थिए ।
 

मुलुकको वर्तमान आर्थिक संकटदेखि श्रीलंकाले व्यहोरेको संकटका विषयमा पनि चर्चा भएको थियो । हमालले अमेरिकी सहयोग सम्झौता एमसिसीदेखि एसपिपी र चिनियाँ परियोजना बिआरआईका विषयमा पनि आफ्ना धारणा राखेका थिए । छलफलको क्रममा प्रचण्डले राजनीतिको गहिरो ज्ञान र लोकप्रियता भएको व्यक्ति भएकाले यस्ता व्यक्ति राजनीतिमा खाँचो रहेको बताएका थिए । जवाफमा हमालले आफू राजनीतिमा होमिइनसके पनि आउन नहुने कुनै कारण नभएको बताएका थिए ।
 

मुलुक संघीय संसद् र प्रदेश सभा निर्वाचनको सामुन्ने छ । कात्तिक वा मंसिरभित्र निर्वाचन सम्पन्न गर्ने गरी सम्भवतः असार महिनाभित्रै आसन्न निर्वाचनको मिति घोषणा हुनेछ । त्यसलाई लक्षित गरी स्वतन्त्र उम्मेदवारीदेखि राजनीतिक दल घोषणा र दर्ताको क्रम चलिरहेको छ । कला, पत्रकारिता, साहित्य, आर्थिक क्षेत्रका चर्चित नाम उम्मेदवारी घोषणाको पंक्तिमा छन् । लाखौँ फ्यान फलोइङ भएका राजेश हमाल पनि त्यही लाइनमा उभिन लागेका हुन् कि भन्ने शुक्रबारको भेटले चासो बढाइदिएको छ ।
 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका वेला चितवनस्थित नयाँ पत्रिकाकर्मीसँगको कुराकानीमा अभिनेता हमालले काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि आफू पनि मैदानमा उत्रन सक्ने संकेत गरेका थिए । हमालले काठमाडौं महानगरको विकास कसरी गर्ने भन्ने योजना पनि सुनाएका थिए ।  तर, उनी मैदानमा उत्रिएनन् । प्रदेश र संघीय निर्वाचन निकट आएका वेला शुक्रबार बिहानै संसद्को तेस्रो ठूलो दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसँग भेटेर उनले राजनीतिक मैदानमा उत्रन सक्ने सम्भावनाको संकेत गरेका छन् । तर, यस विषयमा हमालको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । राजनीतिमा होमिने अठोटसहित शुक्रबार प्रचण्डनिवास पुगेका रहेछन् भने सम्भवतः प्रतिक्रिया आउने छैन । बरु, अन्य पूर्वप्रधानमन्त्रीहरू, अन्य दलका शीर्ष नेताहरूदेखि विविध क्षेत्रका स्थापित व्यक्तित्वहरूसँग शृंखलाबद्ध भेटका सूचना र तस्बिरहरू भने अवश्य आउनेछन् ।