मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७९ असार १५ बुधबार १५:१९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री भन्छन्– सुर्खेतमै फोन–इन्टरनेट चल्दैन, सिंगो कर्णालीको अवस्था के होला ?

भौगोलिक विकटता भएकाले कर्णालीमा फोन र इन्टरनेट झन् प्रभावकारी हुनुपर्ने उपभोक्ताहरूको भनाइ

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ असार १५ बुधबार १५:१९:००

कर्णाली प्रदेशमा सञ्चारका लागि फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुर्खेतको वीरेन्द्रनगरमा बुधबार आयोजना गरेको कार्यक्रमका सहभागीले सञ्चारका सेवा दिने फोन र इन्टरनेटका साधन भरपर्दो नभएको बताएका हुन् । 

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको राजधानी सुर्खेतमै पनि फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको बताए । ‘सुर्खेतमा नै इन्टरनेट सेवा र फोन सेवा भरपर्दो छैन,’ उनले प्रश्न गरे, ‘कर्णाली विकट क्षेत्रमा अवस्था कस्तो होला ?’ 

कर्णालीका हिमाली र दुर्गम क्षेत्रमा अहिले पनि फोन सुविधा नपुगेको शाहीले बताए । ‘कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा फोन सेवा छैन । इन्टरनेट सेवाको कुरा छाडौँ,’ उनले भने, ‘यसमा सरोकारवाला निकाय सबैको ध्यान जान आवश्यक छ ।’

‘डिजिटल कर्णाली’को नारा खाद्यान्न उत्पादन नहुने क्षेत्रमा ‘अर्गानिक खेती’ घोषणा गरिएजस्तै भएको उनकाे भनाइ छ । ‘हामीले कर्णाली प्रदेशमा अर्गानिक कर्णाली प्रदेश भन्छौँ । तर, हामीकहाँ खाद्यान्नमा आत्मनिर्भर भएका छैनौँ ।’ उनले भने, ‘डिजिटल प्रदेश घोषणा गरेका छौँ । हाम्रो फोन सेवा र इन्टरनेट सेवा नै छैन ।’

अहिले गाँस, वास, कपासजस्तै आवश्यक रहेको फोन तथा इन्टरनेट सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सबैलाई आग्रह गरेर नयाँ तरिका त्यसको व्यवस्थापन गरिने मुख्यमन्त्री शाहीले बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले सञ्चार क्षेत्रका सेवा प्रदायक संस्थाहरूले दुर्गम तथा पहाडी क्षेत्रमा सञ्चार सेवा प्रभावकारी ढंगले दिनुपर्ने बताए । सेवा नदिने सञ्चार संस्थालाई प्राधिकरणले सूचीकृत गरिरहेको उनको भनाइ थियो । 

‘हाम्रो देशमा एक सय ३३ संस्थाले इन्टरनेट तथा टेलिफोनको सेवा दिन इजाजत लिएका छन्,’ उनले भने, ‘ती संस्थाले दुर्गम तथा पहाडी क्षेत्रमा प्रभावकारी सेवा दिनुपर्छ । हामी अनुगमन गरिरहेका छौँ ।’ कर्णाली प्रदेशमा सञ्चार क्षेत्रको प्रभावकारी विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेरअघि बढ्न पनि उनले सेवा प्रदायक संस्थाहरूसँग आग्रह गरे । 

नेपाल टेलिकमको कर्णाली प्रार्देशिक निर्देशनालयका निमित्त प्रमुख शिवराज खनालले कर्णाली प्रदेशका जुम्ला र कालिकोटसम्म फाइबर बिछ्याएर इन्टरनेट सेवा र फोन सेवालाई प्रभावकारी बनाउने काम सुरु भएको जानकारी दिए । 
हिमालयन ग्रिन कर्पोरेसन प्रालिका प्रमुख शम्भु पहाडीले इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउन नियमित रूपमा दूरसञ्चार प्राधिकरणले उपभोक्ता र सेवा प्रादायकबीच अन्तर्क्रिया गर्नुपर्ने धारणा राखे । ‘सेवाप्रदायक र उपभोक्ताबीच निरन्तर अन्तर्क्रिया र छलफलको आवश्यकता छ,’ पहाडीले भने, इन्टरनेट र फोन सेवा प्रभावकारी बनाउन दुवै पक्षबीच उत्तिकै सम्बन्ध आवश्यक हुन्छ ।’

उपभोक्ता हकहित संंरक्षण मञ्चका कर्णाली प्रदेश अध्यक्ष बिन्दुलाल रेग्मीले शुल्क लिने, तर सेवा नदिने गर्दा उपभोक्ता मारमा परिरहेको बताए । ‘जुन आधारमा सेवा शुल्क लिइएको छ, त्यही आधारमा फोन सेवा र इन्टरनेट प्रदायकले सुविधा दिएका छैनन्,’ उनले भने ।