मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ असार ८ बुधबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेशमा युवा महोत्सव हुने 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ असार ८ बुधबार २१:४७:००

मधेस प्रदेशमा पहिलोपटक युवा महोत्सव हुने भएको छ। मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आगामी १५ र १६ असारमा दुईदिने महोत्सव हुन लागेको हो । 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले दुई दिनसम्म चल्ने मधेस प्रदेश युवा महोत्सवलाई सभ्य र भव्य बनाउन आवश्यक तयारी भइरहेको बताए । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा प्रदेशका ८ वटै जिल्लाबाट विभिन्न क्षेत्रमा उत्कृष्ट गरेका युवाको सहभागिता रहने मन्त्री सिंहले बताए । 

‘हालसम्म राष्ट्रियस्तरमा मात्र युवा महोत्सव कार्यक्रमहरू आयोजना भइरहेको भए पनि प्रदेशस्तरबाट पहिलोपटक यो महोत्सव हुन लागेको छ,’ मन्त्री सिंहले भने, ‘स्रोत र साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका मधेस प्रदेशका युवाहरूका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गहरूमा अभिमुखीकरण प्रदान गर्न सक्नेलगायतका उद्देश्यले महोत्सवको आयोजना गर्न लागेका हो । यसले यहाँका युवाशक्तिको अवस्था तथा उनीहरूलाई आफ्नो उद्देश्य र लक्ष्य पहिल्याउन टेवा पुग्नेछ।’ 

महोत्सवमा समग्र मधेस प्रदेशबाट युवाहरूको सहभागिता गराउन प्रदेशका ८ वटै जिल्लाका १३६ स्थानीय सरकारलाई सूचना सम्प्रेषण गरिने मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिए ।