मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ८ बुधबार ०९:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एघार महिनामा पौने १६ खर्बको व्यापार घाटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ८ बुधबार ०९:३१:००

एक महिनामै २० अर्बले बढेर आयात वृद्धि पुरानै लयमा फर्कियो, निर्यात ५३ प्रतिशतले बढ्यो

सरकारले निरुत्साहनको नीति लिएपछि घट्न थालेको आयात फेरि पुरानै लयमा फर्कन थालेको छ । फागुन महिनायता घट्दोदरमा रहेको आयात जेठ महिनामा उच्चदरले बढेको छ ।

नेपालमा जेठमा मात्रै एक खर्ब ५८ अर्ब ५७ करोड रुपैयाँबरारका विभिन्न सामानहरू आयात भएको छ । यो वैशाख महिनाको तुलनामा २० अर्ब ५८ करोडले बढी हो । उच्च आयातकै कारण मुलुकको शोधनान्तर अवस्था ऋणात्मक हुनुका साथै विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ । विदेशी मुद्रा सञ्चिति बढाउन सरकारले १० वस्तुको आयातमा बन्देज लगाएको छ भने ४७ वस्तुको आयातमा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले निरत्साहनको नीति लिएपछि फागुनदेखि वैशाखसम्म मासिक रूपमा आयातदर घटेको थियो । तर, जेठमा भने उच्चदरले बढेर पुरानै लयमा फर्किएको हो । 

भन्सार विभागका अनुसार फागुन महिनामा एक खर्ब ६१ अर्ब २७ करोड रुपैयाँबराबरको आयात भएको थियो । चैतमा एक खर्ब ५७ अर्ब ९३ करोडको आयात भएको तथ्यांक छ । वैशाखमा भने एक खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँबराबरको आयात भएको थियो । जेठ महिनामा भएको आयात फागुनयताकै सबैभन्दा बढी हो ।

चालू आर्थिक वर्षको ११ महिनामा नेपालमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँबराबरको आयात भएको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो । गएको आर्थिक वर्ष ०७७/७८ को ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोडबराबरको आयात भएको थियो ।

यस अवधिमा नेपालले हालसम्मकै उच्च अर्थात् एक खर्ब ८५ अर्ब ८३ करोडबराबरको निर्यात गरेको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा ५३.३ प्रतिशतले बढी हो । गएको आर्थिक वर्ष ०७७/७८ को ११ महिनामा नेपालले एक खर्ब २१ अर्ब २५ करोडको निर्यात गरेको थियो ।

व्यापार घाटा २५ प्रतिशतले बढ्यो
यो ११ महिनामा नेपालको कुल व्यापार २९.५ प्रतिशतले बढेर १९ खर्ब ४९ अर्ब ६ करोड पुगेको छ । गएको वर्ष यही अवधिमा नेपालले कुल १५ खर्ब चार अर्ब ६१ करोडको व्यापार गरेको थियो । बढ्दो व्यापारसँगै व्यापार घाटा पनि बढेको छ । निर्यात वृद्धि उच्च भए पनि आयातको आकार ठूलो हुँदा नेपालको व्यापार घाटा २५ प्रतिशतले बढेको छ । यो ११ महिनामा नेपालले १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको ११ महिनामा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोडबराबरको थियो ।