१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार ५ आइतबार ०९:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार प्रक्रिया पूरा गरेर नेपाल भित्रिएका तीनवटा मालवाहक गाडीको प्रज्ञापनपत्र नै नक्कली

Read Time : > 1 मिनेट
२०७९ असार ५ आइतबार ०९:२६:००

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट कागजी प्रक्रिया पूरा भएर छुटेका तीन भारतीय मालवाहक ट्रकको प्रज्ञापनपत्रलगायतका कागजात नक्कली भएको भेटिएको छ । प्रज्ञापनपत्रमा मालवाहक सवारीमा लोड गरिएका सामग्री र परिमाण उल्लेख गरिएको हुन्छ । तर, यो प्रज्ञापनपत्र नक्कली हुँदा पनि २२ जेठको राति १२ बजे मेची भन्सारभित्रैबाट जाँचपास गरेर निस्किएका थिए । 

भन्सारबाट निस्किएर सवारीसाधनमा सशस्त्र प्रहरीले शंका गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत पाँच किलोमिटर पश्चिम जोरसिमलमा नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि सशस्त्रले डब्लुबी ३७बी७३८३, एनएल०१जी९९५२ र डब्लुबी१९जे७९२० ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझायो । यी मालवाहक सवारीसाधनमा आलु र केही बिरुवा थिए । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालका अनुसार बिरुवा भए पनि केको हो भन्ने पुष्टि नभएको बताए । 

यद्यपि, सवारी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका अनुसार उक्त बिरुवा प्रतिबन्धित रक्तचन्दनका हुन् । भन्सारबाट सेटिङमा प्रतिबन्धित रक्तचन्दनका बिरुवासमेत नेपाल भित्रिने गरेको यो घटनाले पुष्टि गरेको छ । सबै भन्सार प्रक्रिया पूरा गरेर भन्सारमा पार्किङसमेत गरेर नेपाल भित्रिएका सवारीको प्रज्ञापनपत्र नै नक्कली भेटिएको हो । ‘हामीले प्रज्ञापनपत्र हेर्‍यौँ । अनुसन्धानका क्रममा प्रज्ञापनपत्र नक्कली भेटिएको छ,’ खनालले भने, ‘नियन्त्रणमा लिएको सवारी दाबी गर्न पनि कोही आएको छैन । गाडीमा रहेको आलु प्रक्रियाअनुसार लिलामी गरिसक्यौँ । बिरुवा बाँकी छ । लिलामी गर्न मिल्दैन । यो त्यसै राखेका छौँ ।’ यो घटनाबारे अनुसन्धान भइरहेको खनालले बताए ।हालसम्म कर्मचारीको संलग्नता भने पुष्टि नभएको उनको भनाइ छ । ‘कर्मचारी दोषी देखिए भने अनुसन्धान हुन्छ । अहिले मैले केही देखेको छैन । यसबारे बोल्न मिल्दैन,’ खनालले भने, ‘निर्दोष छन् भन्न सक्दिनँ, दोषी छन् भनेर आरोप लगाउन सकिँदैन । अहिले अनुसन्धानकै क्रममा छ ।’

उक्त नक्कली प्रज्ञापनपत्रमा पनि मेची भन्सार कार्यालयको छाप पनि रहेको उनले बताए । ‘हेर्दा सक्कलीजस्तै छ । सशस्त्र प्रहरीले पनि नक्कली भनेर नियन्त्रणमा लिएको होइन । दुवैमा बराबर अमाउन्ट छ भनेर शंका गरेर हेरेको हो,’ उनले भने, ‘सुरुमा हामीलाई पनि लागेन । सबैमा अफिसको छाप पनि छ । पछि भन्सारका हाकिमले यो नक्कली भन्नुभयो । उहाँले हामीले पास गरेको होइन भन्नुभयो । त्यहाँ भएको दस्ताखत पनि आफैँ गरेको छ । हामीले भिडाइसक्यौँ । कुनै कर्मचारीको होइन ।’

मेची भन्सार कार्यालयका एक कर्मचारीले भने कार्यालय प्रमुख केशवराज ओलीको संलग्नतामै नक्कली प्रज्ञापनपत्र भएको सवारी नेपाल छिराइएको बताए । ‘कार्यालय प्रमुख केशवराज ओली र भन्सारका कर्मचारी अर्जुन सिटौलाको संलग्नता छ । नभए कसरी भन्सारभित्र प्रवेश गराएर जाँचपास गरेको गाडीको प्रज्ञापनपत्र नक्कली हुन्छ ?’ ती कर्मचारी भन्छन्, ‘यो त प्रतिनिधिमूलक घटना हो । यस्ता त कति भए कति ! सधैँ यस्तै हुन्छ ।’ भन्सार प्रमुख ओलीलाई दिनभर सम्पर्क गर्न कोसिस गर्दा पनि उनी सम्पर्कमा आएनन् । भन्सार विभागका प्रवक्ताले पनि फोन उठाएनन् ।