मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७९ जेठ २९ आइतबार ०९:११:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेस्सी र रोनाल्डोको स्थान लिन सक्छन्  यी पाँच खेलाडी

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ जेठ २९ आइतबार ०९:११:००

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले लामो समयदेखि विश्व फुटबल जगत्मा जादु चलाइरहेका छन् । यी दुई सदाबहार जोडीको उपस्थितिमा कैयाैँ प्रतिभावान् खेलाडीसमेत खासै चम्किन सकेनन् । तर, अब दुवै खेलाडी खेलजीवनको उत्तराद्र्धतर्फ अघि बढिरहेका छन् ।

अधिकांश फुटबल खेलाडीको खेल करियर र प्रदर्शन ३० वर्षको उमेरपछि ओरालो लाग्न थालेको देखिन्छ । ३७ वर्षका रोनाल्डो र ३४ वर्षका मेस्सी अझै पनि प्रदर्शनका हिसाबले उत्कृष्ट लयमा हुनुलाई धेरैले ‘महानता’सँग जोड्छन् । तर, हरेक कुराको अन्त्य हुन्छ नै, त्यसैले हामीमध्ये धेरैले नचाहँदा–नचाहँदै यी दुई स्टारको करियरको अन्त्य नजिक आउँदै छ । यस्तोमा अहिले यी दुई ‘महानतम’ खेलाडीको अवकाशपछि आउने फुटबल स्टारबारे चर्चा सुरु भएको छ । पिएसजी तथा फ्रान्सका खेलाडी किलियन एमबाप्पेको जादुमय खेलदेखि एर्लिङ हालान्डको असाधारण उदयमा नयाँ स्टारको खोजी भइरहेको छ । यहाँ मेस्सी र रोनाल्डोको अवकाशपछि स्टार बन्ने धेरै सम्भावना देखाएका युवा खेलाडीको चर्चा गरिएको छ :

केलियन एमबाप्पे
खेल विश्लेषकहरू अहिले खेलिरहेका युवा फुटबलरमध्ये एमबाप्पेलाई रोनाल्डो र मेस्सीको असली उत्तराधिकारी मान्छन् । उनले भविष्यमा मेस्सी र रोनाल्डोकै हाराहारी संख्यामा बालोन डी’ओर उपाधि जित्ने सम्भावना रहेको प्रक्षेपण गर्न थालिएको छ । फ्रान्सको राष्ट्रिय टिमबाट एमबाप्पेले विश्व कप जितिसकेका छन् । क्लबस्तरमा पनि एमबाप्पेको टिमले च्याम्पियन्स लिग जित्न अझै प्रयास गर्नुपर्ने देखिन्छ । युरोपका एलिट क्लबको आँखामा परेका एमबाप्पेलाई अनुबन्ध गर्न निकै ठूलो राशी लाग्नेछ । 

एर्लिङ हालान्ड
गत वर्ष लाइभ स्कोरको आधिकारिक विश्वव्यापी ब्रान्ड एम्बेस्डर चुनिँदा रोनाल्डो र मेस्सीपछि विश्व फुटबलमा अधिपत्य जमाउने कुनै एक खेलाडीको नाम भनिदिन आग्रह गर्दा रोनाल्डोले एउटै खेलाडीको नाम भन्न गाह्रो हुने तर एर्लिङ हालान्ड र किलियन एमबाप्पेको खेलबाट उत्साहित हुने जवाफ दिए । रोनाल्डोको भनाइका कारण मात्र होइन, एर्लिङले उनको खेलबाटै पनि सम्भावना देखाइसकेका छन् । अघिल्लो वर्षको युइएफ च्याम्पियन लिगको अन्तिम १६ को पहिलो खेलमा बोरुसिया डर्टमन्डले स्टार खेलाडीले भरिएको पिएसजीलाई २–१ ले पछि पारेको थियो । त्यस खेलमा दुवै गोल डर्टमन्डका नयाँ स्ट्राइकर एर्लिङ हालान्डले गरेका थिए । समयसँगै उनको खेल निखारिँदै गएको मानिन्छ ।

जाडोन सान्चो
सान्चो १७ वर्षको उमेरमा सन् २०१७ मा म्यानचेस्टर सिटीको युवा टिमबाट डर्टमन्ड ट्रान्सफर भएका थिए । त्यहाँ उनी सीधै फस्ट टिममा जोडिए । यस क्रममा उनले उत्कृष्ट प्रदर्शन गरे । उनले डर्टमन्डका ८८ खेलमा ३१ गोल गरे भने ३७ गोलमा असिस्ट गरे । बुन्डेसलिगामा गएको दोस्रो वर्ष नै उनी बुन्डेसलिगाको स्वप्न टिमका लागि चुनिएका थिए । त्यहाँ उनी सन् २०१९ को कोपा ट्रफीको रनर अप भएका थिए । उत्कृष्ट प्रदर्शनमाझ सन् २०२१ मा सान्चो आठ करोड पाउन्डमा पुनः म्यानचेस्टर युनाइटेड फर्किए । 

जोआओ फेलिक्स
२२ वर्षे पोर्चुगिस व्यावसायिक फुटबलर जोआओ फेलिक्स एथलेटिको म्याड्रिडका फरवार्डका रूपमा खेल्छन् । उनले खेलमा देखाउने उत्कृष्ट फिनिसिङ, ड्रिब्लिङ, सिर्जनात्मकता आदिका कारण धेरै खेल विश्लेषकले उनलाई भावी स्टारको रूपमा हेर्दै आएका छन् ।

उनी खेल मैदानमा आवश्यकता पर्दा विङ्गर र एट्याकिङ मिडफिल्डरका रूपमा पनि खेल्न सक्छन् । पोर्चुगिज क्लब बेनफिकामा उनले १७ वर्षको उमेरमै पहिलो टिममा खेल्न थालेका थिए । त्यस क्रममा उनले बेनफिकालाई टाइटल जित्न सघाए । उनको प्रतिभा चिनेर सन् २०१९ मा एथलेटिको म्याड्रिडले उनलाई १२६ मिलियन युरो तिरेर अनुबन्ध गरायो । यो रकम कुनै किशोर फुटबल खेलाडीलाई खर्चिएको हालसम्मकै दोस्रो ठूलो हो । उनी एथलेटिको गएको दोस्रो सिजनमै (२०२०–२१) क्लब ला लिगा जित्न सफल भयो । 

अन्सु फाती
अफ्रिकी मुलुक गिनी विसाउमा जन्मिएका अन्सु फातीले स्पेनको नागरिकता लिएपछि अहिले त्यहीँको राष्ट्रिय क्लबबाट खेल्छन् । यसबाहेक उनी बार्सिलोनाका फरवार्ड हुन् । उनको खेल्ने शैलीलाई धेरैले बार्सिलोनाका पूर्वस्टार मेस्सीसँग तुलना गर्छन् । प्राकृति रूपमा दाहिने खुट्टाबाट खेल्ने भए पनि उनी दुवै खुट्टाबाट बललाई कुशलतापूर्वक अघि बढाउन सक्छन्, जसले गर्दा उनी खेलमैदानका विभिन्न भागबाट खेल्न सक्छन् ।

सन् २०२१ मा इएसपिएनका टोर–क्रिस्टियन कार्लसेनले फातीको गति, प्रवेग, टेक्निकल स्किलका आधारमा ‘पुस्तौँमा जन्मिने प्रतिभा’ बताएका थिए । खेल पण्डितहरूले फातीको खेल बौद्धिकता, प्रतिरक्षात्मक गति र अन्य खेलाडीसँगको मेललाई पनि उनको सबलताको रूपमा व्याख्या गरेका छन् ।