चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले विद्युतीय सवारीको व्यवसाय सुरु गरेको छ । कम्पनीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो ।
निटा भीले एकपटकको फुलचार्जमा ३८० भन्दा बढी किलोमिटर रेन्ज दिने जनाइएको छ । यो कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको कम्पनीको दाबी छ । निटा भीको अधिकतम गति एक सय एक किलोमिटर प्रतिघन्टा रहेको जनाइएको छ । यसमा प्रयोग भएका ब्याट्री र मोटरमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।
विद्युतीय मोटरले ७० किलोवाट, ९५ पिएस पावर र १६० एनएम टर्क जेनेरेट गर्ने यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको क्षमता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको जनाइएको छ । नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध रहेको जनाइएको छ । त्यस्तै, यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसका साथै हरेक खरिदकर्तालाई ६.६ केडब्लुको चार्जर र एक वर्षको बिमाको सुविधा निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।
सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउन आपूmहरूले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए । उनले भने, ‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारीसाधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ ।’ सरकारको यही योजनालाई सघाउन निजी र व्यावसायिक रूपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेको उनको भनाइ छ ।