१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ जेठ २४ मंगलबार १२:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा अझै पुगेन पाठ्यपुस्तक, १७ हजार विद्यार्थीको पठनपाठन प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार १२:४७:oo

शैक्षिक सत्र सुरु भएको एक महिना बित्नै लाग्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुग्दा जिल्लामा रहेका सामुदायिक तथा निजी गरी एक सय ४० विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीको पठनपाठनमा समस्या भएको छ।

स्थानीय तहको निर्वाचनका कारण समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीले पठनपाठनमा सास्ती भोगिरहेका छन्। जेठको पहिलो सातामै पुग्नुपर्ने पाठ्यपुस्तक चौथो साता बित्न लाग्दासमेत जिल्लामा आइपुगेको छैन। पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा आइसकेको छ। पाठ्यपुस्तक खरिदको जिम्मा पाएको  जयलक्ष्मी पुस्तक भण्डारले हालसम्म पनि जिल्लामा पुस्तक ल्याउन सकेका छैन।

पाठ्यपुस्तक ढुवानीका लागि नगरपालिकाले लिखितपत्र पठाएको र मौखिक रूपमा ताकेता गरिरहेको छायाँनाथ–रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए। शिक्षकसँग पनि किताब नहुनाले अध्यापन गराउन झनै सास्ती व्यहोर्नुपरेको महाकाली नमुना माध्यमिक विद्यालय मुगुका प्रधानाध्यापक खड्गबहादुर रोकायाले बताए।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको जिम्मासमेत जनक शिक्षा सामग्रीले लिएकाले पुस्तक ल्याउन ढिलाइ भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मुगुका प्रमुख सूर्यबहादुर खत्री बताउँछन्। पाठ्यपुस्तक छपाइको जिम्मा लिएको जनक शिक्षाले मतपत्र छपाइसमेत गर्दा ढिलो भएको हो। जेठ अन्तिम सातासम्म पाठ्यपुस्तक पुग्ने उनको भनाइ छ।

जनक शिक्षालाई रकम दिएर कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको र पुस्तक सुर्खेतमा तयारी अवस्थामा रहेको ढुवानीको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका सञ्चालक लक्ष्मी भामले जानकारी गराए। जयलक्ष्मी पुस्तक भण्डारले छायाँनाथ–रारा नगरपालिकाभित्र ४६ वटा सामुदायिक विद्यालयको पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएको छ। अबको एक सातामा पाठ्यपुस्तक जिल्लामा आइपुग्ने उनले बताए।

जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ–रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन।

 

याे पनि पढ्नुहाेस् : विद्यालयमा धमाधम पढाइ, विद्यार्थीको हातमा छैन पुस्तक