१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ २४ मंगलबार ०५:५९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साथीको जन्मदिन मनाउन गएकी बाँकेकी बालिकामाथि सामूहिक बलात्कार

Read Time : > 1 मिनेट
२०७९ जेठ २४ मंगलबार ०५:५९:००

बाँके–बर्दियाको सीमामा पर्ने मानखोलाको जंगलमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । फेसबुकका माध्यमबाट चिनजान भएका साथीको जन्मदिन मनाउन बर्दिया गएकी बालिकामाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कार आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारू, विक्रान्त थारू, नीराजन थारू, प्रवीण थारू र राजकुमार थारू छन् । यस्तै, बलात्कारमा सहयोग गरेको अभियोगमा विश्वनाथ थारू र निर्देश थारू पनि पक्राउ परेका छन् ।

मधुसुदन न्यौपाने प्रहरी नायब उपरीक्षक

आइतबार बिहान चेकजाँच गर्दा बालिका अर्धचेत अवस्थामा थिइन् । एकजनाले मोटरसाइकल चलाएका थिए । अर्कोले पछाडि बसेर बालिकालाई समातेको अवस्थामा फेला पार्‍यौँ । शंका लागेर सोधपुछ गर्दा युवाहरू डराएपछि नियन्त्रणमा लियौँ । होसमा आएपछि बालिकाले बलात्कारमा परेको बयान दिइन् ।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बलात्कारमा संलग्न पाँच र सहयोगी दुई गरी सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिए । पीडित बालिका राप्तीसोनारी गाउँपालिकाकी हुन् । 

यस्तो थियो घटना विवरण
प्रहरीका अनुसार बैजनाथ गाउँपालिका– ८ का हेमराज थारूले फेसबुकमार्फत चिनजान गरी बालिकालाई फकाएका थिए । उनले आफ्नो जन्मदिन भएको भन्दै २१ जेठमा फोन गरेर बालिकालाई बाँके–बर्दियाको सिमाना मानखोला बोलाए । उनी साथी भेट्न बस चढेर मानखोला पुगिन् । उनलाई हेमराज र विक्रान्तले बर्दियाको बढैयाताल घुमाए र त्यसपछि मानखोलाको फूलबारीमा ल्याए ।

र, राति बर्थडे पार्टी गरे । बालिकालाई मदिरा खुवाएर लट्ठ पारेपछि पाँच युवाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारको पीडापछि बालिका बेहोस भइन् । सोही रात उनलाई मोटरसाइकलमा राखेर युवा समूहले बैजनाथ गाउँपालिका– ८ स्थित पिपरीमा रहेको विक्रान्त थारूको घरमा पुर्‍याए । गोठमा सुताएपछि बालिकाको होस अलिअलि खुल्यो । लगत्तै नीराजन र विक्रान्तले बलात्कार गरेको अनुसन्धानबाट खुलेको डिएसपी मधुसुदन न्यौपानेले बताए । 

पुनः बलात्कार गरेपछि बालिका फेरि बेहोस भएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी उनलाई विक्रान्तकै भे.३प ३५२७ नम्बरको पल्सर मोटरसाइकलमा घरसम्म पुर्‍याउने युवाहरूबीच सल्लाह भयो । त्यतिन्जेल बिहान भइसकेको थियो । विश्वनाथ थारूले चलाएको मोटरसाइकलको पछाडि बस्ने एक किशोर र बालिकालाई नियन्त्रणमा लिएपछि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । नेपालगन्ज–गुलरिया सडकको उढरापुरमा खटिएको प्रहरीले चेकजाँच गर्दा बालिकामाथि सामूहिक बलात्कारको रहस्य खुलेको डिएसपी न्यौपानेले बताए ।