मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १८ बुधबार १९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटमा सबैको स्वाधीनता छ, मिलेर कार्यान्वयन गरौँ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १८ बुधबार १९:४२:००

अर्थमन्त्री जनार्दन शर्माले सबैको स्वाधीनता कायम हुने गरी सरोकारवाला पक्षहरूसँग बारम्बार छलफल गरेर आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गरेको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् । 

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखि कर्णालीका जनजातिसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधीनता रहेको बताए । 

‘यो बजेट तपाईंहरूको हो, म त केबल प्रतिनिधि मात्र हुँ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौँ।’

आमजनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्देश्य हासिल हुने उनले विश्वास व्यक्त गरे । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ,’ उनले भने । उनले कृषि उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए । 

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बुलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको उनले स्पष्ट पारे । उनले किसानलाई उत्साहित गर्न, परिचय-पत्र वितरण गर्न र कृषि पेसाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ ।