मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
साैरभ यादव राजविराज
२०७९ जेठ १५ आइतबार ०६:१८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

छिमेकीको  कुटाइले तुहियो गर्भ

Read Time : > 2 मिनेट
साैरभ यादव राजविराज
२०७९ जेठ १५ आइतबार ०६:१८:००

पीडित रञ्जुदेवी मण्डलको बिलौना गर्भ छ भन्दा पनि लात्ती र मुड्कीले पेटमा हाने

पीडित रञ्जुदेवी (बायाँ) दुई नाबालक र सासुसहित न्याय खोज्न सदरमुकाम राजविराजमा

९ जेठको दिउँसो श्रीमान् बाख्रा चराउन जाँदा छिमेकी हरिहरले पालेको कुकुरलाई हिर्काउनुभएको रहेछ । त्यही निहुँमा दिउँसो ३ बजेतिर छोराहरू श्रीराम र शिवशंकरसहित घरभित्रै आएर मलाई निर्घात कुटपिट गरे । लछारपछार गर्दै लात्ती र मुड्कीले जथाभावी हाने, गर्भ छ भन्दा पनि पेटमा समेत हिर्काए । त्यही दिन ४ बजेतिर अस्पताल गएर जचाउँदा गर्भ नबिग्रिएको रिपोर्ट आएको थियो । तर, राति निकै पेट दुख्यो, रक्तस्राव पनि भयो । भोलिपल्ट दिउँसो १ बजेतिर पुनः अस्पताल गएर जाँच गर्दा गर्भ नरहेको रिपोर्ट आयो ।

...                                   ...

श्रीमानले कुकुरलाई हिर्काएको निहुँमा गर्भवती श्रीमतीमाथि आक्रमण

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको छ । कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जचाउँदा गर्भ खेर गएको पुष्टि भएको हो । 

घटना गत सोमबारको हो । श्रीमान् अजयकुमार मण्डलले छिमेकी हरिहर मण्डलको कुकुरलाई हिर्काएको निहुँमा छोराहरू श्रीराम र शिवशंकरसहित आएर आफूमाथि आक्रमण गरेको पीडित रञ्जुदेवीले बताइन् । पेटमा गर्भ रहेको जानकारी गराउँदै जथाभावी नहान्न भन्दा झन् पेटमै हिर्काएको उनको गुनासो छ । 

‘९ जेठको दिउँसो श्रीमान् बाख्रा चराउन जाँदा छिमेकी हरिहरले पालेको कुकुरलाई हिर्काउनुभएको रहेछ । त्यही निहुँमा दिउँसो ३ बजेतिर छोराहरू श्रीराम र शिवशंकरसहित घरभित्रै आएर मलाई निर्घात कुटपिट गरे । लछारपछार गर्दै लात्ती र मुड्कीले जथाभावी हाने, गर्भ छ भन्दा पेटमा समेत हिर्काए,’ उनले घटनाबारे भनिन्, ‘त्यही दिन ४ बजेतिर अस्पताल गएर जचाउँदा गर्भ नबिग्रिएको रिपोर्ट आएको थियो । तर, राति निकै पेट दुख्यो, रक्तस्राव पनि भयो । भोलिपल्ट दिउँसो १ बजेतिर पुनः अस्पताल गएर जाँच गर्दा गर्भ नरहेको रिपोर्ट आयो ।’ यी दुवै रिपोर्ट नयाँ पत्रिकालाई पनि उपलब्ध भएका छन् । 

गर्भ तुहिएको रिपोर्ट आएपछि निराश भएकी रञ्जुदेवी परिवारका सदस्यसहित अस्पतालबाट सीधै जिल्ला प्रहरी कार्यालय पुगिन् । महिला सेलमा ठाडो उजुरी दिइन् । महिला सेलले गजेन्द्रनारायण अस्पतालमा घाउ जाँच गरेर रिपोर्ट पेस गर्न चिठी दियो । घाउ जाँच गराएर रिपोर्ट महिला सेलमा बुझाएपछि उनीहरू न्याय पाउने आसमा घर फर्किए । 

तर, चार दिनसम्म प्रहरीले वास्ता नगरेपछि रञ्जुदेवी चार वर्षीय छोरा र तीन वर्षीया छोरी च्यापेर श्रीमान् र सासूसहित शनिबार राजविराज आइन् । पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरिन् । पीडित रञ्जुदेवीले न्यायका लागि सहयोग गरिदिन मानव अधिकारकर्मी, पत्रकार र स्थानीय प्रशासनसँग आग्रह गरेकी छिन् । 

पीडितले ठाडो जाहेरी दिएको पाँचौँ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्ले भने घटनाबारे बुझ्ने काम भइरहेको बताउँछन् । ‘पीडित पक्षबाट जाहेरी आएको छ कि छैन भनेर बुझ्दै छु,’ उनले भने, ‘त्यस्तो घटना भएको हो भने कानुअनुसार अघि बढ्छौँ ।’ जब कि पीडितले प्रहरीकै महिला सेलले भनेअनुसार घाउ जाँच गराएर रिपोर्टसमेत बुझाएका थिए ।

पीडकले धम्की दिनेदेखि स्थानीय जनप्रतिनिधिले पीडकसँग मिलापत्र गर्न दबाब दिएकाले आफू झन् समस्यामा परेको पीडितले बताएकी छिन् । ‘एकातिर जनप्रतिनिधिले मिल्न दबाब दिँदै आइएका छन्, अर्कोतिर पीडकहरू धाकधम्की दिइरहेका छन् । यसले परिवारमै थप तनाव थपिएको छ,’ उनले गुनासो गरिन्, ‘बाध्य भएर न्यायका लागि हारगुहार गर्दै चौतर्फी भौँतारिनुपरेको छ ।’ 

तिलाठी–कोइलाडी– ४ का वडाध्यक्ष मुनिलाल मुखिया मिल्ने हो भने सहयोग गर्ने मात्रै भनेको बताउँछन् । ‘मैले तपाईंको समस्या के हो भन्नु, हाम्रो काम समाजको समस्या मिलाइदिने हो मात्र भनेको हो,’ उनले भने, ‘अरू केही दबाब दिएको छैन ।’ कुटपिटबाट गर्भ नै तुहिएको जघन्य अपराधमा पीडकलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा मिलाउन प्रयास गर्नु पनि अपराध हो ।