१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार १३:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटबारे कृषिमन्त्री यादव– एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार १३:२१:००

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन्। एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकाले नेपाल एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेटले कृषि, उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए। ‘यो बजेटले नेपाली जनताको कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान हुनेछ। हामी अबको एक वर्षभित्रमा कमसेकम कृषिमा आत्मनिर्भर हुन सक्छौँ,’ उनले भने।

मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौती भएको बताए। बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेको भन्दै उनले मन्त्रालय कृषि नीति पास गराउन लागिपरेको बताए।

'यसपालिको बजेटमा जुन नीति कार्यक्रममा आएको छ, त्यो विगतको भन्दा धेरै परिवर्तनको रूपमा कृषि क्षेत्रमा आएको छ। तर, त्यसलाई हामीले कसरी कार्यान्वयन गर्ने भन्ने मूल समस्या हो । बजेटमा कति निर्धारण हुन्छ, त्यसकै आधारमा हामीले कृषि क्षेत्रको विकासलाई कार्यक्रममा अघि बढाउने हो,’ उनले भने।