Skip This
मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
रासस मेलम्ची
२o८o मङ्सिर १६ शनिबार १६:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

Read Time : > 1 मिनेट
रासस, मेलम्ची
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार १६:५३:oo

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुुगेका हुन्। 

खोला तर्दैगर्दा मन्त्री यादवले काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै कर्मचारीलाई निर्देशनसमेत दिए।मन्त्री यादवले काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ।

मन्त्री यादव पानी काठमाडौं चाँडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बसेका छन्। जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौं झार्नुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटेको उनको सचिवालयका टंक धमलाले जानकारी दिए। उनले भने, ‘मेलम्चीको पानी काठमाडौं पुर्‍याउने विषयमा मन्त्री लागिपरेका छन्, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौं पुग्छ।’

निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले पानी काठमाडौं पठाउनका लागि केही ढिलाइ भएको मन्त्री यादवले बताए। उनले भने, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाँडो पानी काठमाडौं पठाउन हामी लागिपरेका छौँ, एक महिनाभित्रमा पानी काठमाडौँ पुर्‍याउने हाम्रो लक्ष्य हो।’

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमनपछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौं पानी पठाउनका लागि तीव्र गतिमा काम सुरु भएको बताए। उनले भने, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ।’ शुक्रबारको अनुगमनका क्रममा पानी चाँडै काठमाडौं पुर्‍याउनेमा मन्त्री यादव निकै आतुर रहेको देखिन्थे। 
 
बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ। क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौंमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। 

उनले भने, ‘यति दिनमा पानी काठमाडौं पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीव्र गतिमा सुरु भएको छ, पानी काठमाडौंमा महिना दिनमा पुर्‍याउने आशा गरेका छौँ।’ प्राविधिक र अन्य समस्या भएकाले यति दिनभित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौं पुग्ने उनको भनाइ छ । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौंमा पानी पठाउनका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग भइरहेको बताए। उनले भने, ‘मेलम्चीको पानी काठमाडौं पठाउनका लागि स्थानीय सरकार र जनता पूर्ण रूपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटक-पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरूको सम्बोधन हुनुपर्छ।’