१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रियल इस्टेटमा तरलता अभावको प्रभाव

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३२:oo
  • वैशाखमा घरजग्गा किनबेच ३६.७४ प्रतिशतले घट्यो, राजस्व एक अर्बले कमी
  • एक सय २६ मध्ये पछिल्लो समय सबैभन्दा बढी घरजग्गा किनबेच इनरुवा, बेलबारी, भद्रपुर, जनकपुर, काभ्रे, लगनखेल, भक्तपुर, कलंकी, पर्सा, मकवानपुर, नेपालगन्ज र धनगढी मालपोत कार्यालयबाट

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि र स्थानीय तह निर्वाचनको प्रभाव घरजग्गा (रियल इस्टेट) कारोबारमा देखिएको छ । चैत महिनाको तुलनामा वैशाखमा देशैभर समग्र घरजग्गा किनबेच ३६.७४ प्रतिशतले घटेको छ । अघिल्ला महिना तरलता अभावकै बीच पनि घरजग्गा कारोबारमा उछाल आइरहेको थियो ।

वैशाखमा देशभरि रहेका एक सय २६ मालपोत कार्यालयबाट ४४ हजार आठ सय घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । जबकि चैत महिनामा ७० हजार आठ सय २९ घरजग्गा किनबेच भएका थिए । वैशाखमा मालपोत कार्यालयहरूले घरजग्गा किनबेच, नामसारी, रोक्का–फुकुवालगायत विभिन्न शीर्षकमा ९९ हजार सेवा प्रवाह गरेका छन् । चैतमा एक लाख ५९ हजार सेवा प्रवाह भएको थियो । ०७८ वैशाखको मध्यदेखि कोभिडको दोस्रो लहर सुरु हुँदा घरजग्गा किनबेच प्रभावित भएको थियो । तर, ०७७ को चैत महिनामा भने अहिलेसम्मकै धेरै ८७ हजारभन्दा धेरै घरजग्गा किनबेच हुनुका साथै आठ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

१० महिनामा ६ लाख ४३ हजार किनबेच
आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)सम्म देशभरि ६ लाख ४३ हजार घरजग्गा किनबेच भएका छन् । साउनमा ७५ हजार, भदौमा ७० हजार, असोजमा ५९ हजार, कात्तिकमा ५० हजार, मंसिरमा ६९ हजार, पुसमा ७० हजार, माघमा ५९ हजार, फागुनमा ७४ हजार, चैतमा करिब ७१ हजार र वैशाखमा करिब ४५ हजार घरजग्गा किनबेच भएका छन् । 

वैशाखमा मालपोतबाट संकलित कुल राजस्वमध्ये रजिस्ट्रेसन शुल्क दुई अर्ब ५१ करोड १९ लाख रुपैयाँ र ९४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर असुल हुँदा ७२ करोड ७८ लाख सेवा शुल्क असुल

इनरुवा र बेलबारीमा धेरै घरजग्गा किनबेच 
सुनसरीको इनरुवा र मोरङको बेलबारी लगातार सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोत कार्यालय बन्दै आइरहेका छन् । कुनै महिना इनरुवा अगाडि हुन्छ भने कुनै महिना बेलबारी अगाडि हुन्छ । वैशाखमा इनरुवामा दुई हजार ६४ घरजग्गा किनबेच भएका छन्, बेलबारीमा एक हजार आठ सय ८९ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । यस्तै, झापाको भद्रपुरमा एक हजार सात सय २०, धनुषाको जनकपुरमा एक हजार पाँच सय ३६, काभ्रेमा एक हजार ८६, ललितपुरमा एक हजार चार सय ३१, भक्तपुरमा एक हजार तीन सय १६, कलंकीमा एक हजार एक सय १०, मकवानपुरमा एक हजार १५, चितवनमा एक हजार एक  सय ३५ र बाँकेको नेपालगन्जमा एक हजार तिन सय ७९ घरजग्गा किनबेच भएका छन् । अरू मालपोत कार्यालयबाट वैशाखमा एक हजारभन्दा कम संख्यामा घरजग्गा किनबेच भएको देखिन्छ ।

उपत्यकामा ६ हजार किनबेच
वैशाखमा काठमाडौं उपत्यकाभित्र ६ हजार एक सय नौ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । अहिले उपत्यकाका तीन जिल्लामा नौ मालपोत कार्यालय सञ्चालनमा छन्, जसमध्ये लगनखेलमा एक हजार चार सय ३१, गोटीखेलमा एक हजार १६, भक्तपुरमा एक हजार तिन सय १६, डिल्लीबजारमा दुई सय ७७, चाबहिलमा पाँच सय ६३, कलंकीमा एक हजार एक सय १०, साँखुमा सात सय ४१, मनमैजुमा चार सय ४४ र टोखामा दुई सय ११ घरजग्गा किनबेच भएको देखिन्छ । वैशाख महिनाको कारोबार र सेवा प्रवाहबाट उपत्यकाका नौ मालपोत कार्यालयले दुई अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । 

राजस्व प्रभावित
चालू आवको वैशाखमा घरजग्गा खरिद–बिक्रीसँगै अरू सेवा प्रवाह पनि घटेपछि मालपोत राजस्व संकलन पनि करिब एक अर्बले घटेको छ । अघिल्लो महिना चैतमा पाँच अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएकोमा वैशाखमा चार अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

वैशाखमा मालपोतबाट संकलित कुल राजस्वमध्ये रजिस्ट्रेसन शुल्क दुई अर्ब ५१ करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै, ९४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर असुल हुँदा ७२ करोड ७८ लाख सेवा शुल्क असुल भएको छ । सेवाग्राहीलाई सेवा प्रवाह गरेबापत मालपोत कार्यालयले सेवाकर, बागमती सभ्यता शुल्क, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शुल्क, पुँजीगत लाभकर, पुर्जा प्रिन्ट, अनलाइन प्रिन्ट शुल्क, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यता शुल्क भनेर विभिन्न शीर्षकमा राजस्व उठाउँदै आइरहेको छ ।

जग्गाको कित्ताकाट पनि घट्यो

घरजग्गा किनबेच सुस्ताएसँगै वैशाख महिनामा आर्थिक वर्षकै सबैभन्दा कम जग्गा कित्ताकाट भएको छ । वैशाखमा साबिकका ४५ हजार पाँच सय ९४ जग्गा कित्ताकाट भई एक लाख नौ हजार पाँच सय ५५ कित्ता पुर्‍याइएको विभागले जनाएको छ । चैत महिनामा वर्षभरिकै सबैभन्दा बढी एक लाख ७२ हजार सात सय ९७ जग्गा कित्ताकाट भएको थियो । चैतसम्म घरजग्गा किनबेच र जग्गा कित्ताकाटलाई बढ्दो ब्याजदर र तरलता अभावले खासै प्रभाव पारेको थिएन । साउनमा एक लाख ६६ हजार, भदौमा एक लाख ४८ हजार, असोजमा एक लाख २८ हजार, कात्तिकमा एक लाख ११ हजार, मंसिरमा एक लाख ५८ हजार, पुसमा एक लाख ६३ हजार, माघमा एक लाख ३५ हजार, फागुनमा एक लाख ६९ हजार जग्गा कित्ताकाट भएको विभागले जनाएको छ ।

ad
ad