१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ जेठ ११ बुधबार १७:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हर्क साम्पाङ भन्छन्– म सडकमै हिँड्न चाहन्छु

Read Time : > 2 मिनेट
२०७९ जेठ ११ बुधबार १७:१५:००

ठूला राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारहरूलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारी प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले धरानका जनताले आफूलाई उनीहरूको सेवा गर्न मेयरमा विजयी बनाएकाले महँगो गाडी नचढ्ने सार्वजनिक रूपमा घोषणा गरेका हुन् ।  

नवनिर्वाचित राईले सामाजिक सञ्जालबाट गाडी नचढ्ने घोषणा गरेका हुन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिडेँ भने बाटोका खाल्डो र भत्केका सडक देखिँदैन त्यसैले म सडकमै हिँड्न चाहन्छु । किनकि ती भत्केका खाडलहरू पुर्नुछ, बिग्रिएका बाटाहरु मर्मत गर्नुछ,’ उनले भनेका छन् । आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने प्रतिज्ञा उनले गरेका छन् ।  

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले  समस्या परेको अवस्थामा आफ्नो निजी फोन नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई ९८१९०१२३७१ र ९७४६९६५१९८ मा कल गर्नुहोला । तपाईंको सेवक, जय धरान’, सामाजिक सञ्जालमा राईले लेखेका छन् ।  

धरान उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाका अनुसार स्टोर विभागले मेयरका लागि  को १ ज ६४० नं.को सेतो स्कोर्पियो गाडी र सवारीचालक तयारी अवस्थामा राखेको छ । त्यस्तै, उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखेको खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ । सुविधा लिने वा नलिने भन्ने उहाँहरूको निर्णय हो,’ प्रमुख खतिवडाले भने, ‘मेयर उपमेयर दुवैजनाले गाडी प्रयोग गर्नुभएको छैन । गाडीबारे हामीले जानकारी गराएका छौँ । मेयर साप त मंगलबार पदवहाल गरेपछि उपमहानगरपालिका आउनुभएकै छैन ।’ मेयरले आफ्नो कार्यकालभरि निजीचालक पनि राख्न सक्ने व्यवस्था छ । 

करोडौँको गाडी चढेर हिँड्दा भत्केर खाल्डा परेका सडकहरू देखिँदैन । त्यसैले म सडकमै हिँड्न चाहन्छु । भत्केका खाडलहरू पुर्नुछ, बिग्रिएका बाटाहरू मर्मत गर्नुछ ।

मंगलबार पदभार ग्रहणपछि मेयर राई उपमहानगरपालिका पुगेका छैनन् । उनले मेयरमा निर्वाचित भएलगत्तै जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म आफू फिल्डमै रहने घोषणा गरेका थिए । मेयरमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघ संस्थाहरूले सम्मानका लागि निम्तो दिए पनि मेयर राईले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गरेका छन् । ‘मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुचि छैन । म काम गर्न चाहन्छु । मेरो यो भावना र चाहनाको ख्याल गरिदिनु हुन्छ भन्ने आशा लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । खानेपानीको समस्याबाट विक्षिप्त धरानवासी जनताले निर्वाचनबाट ठूला राजनीतिक दलहरूलाई अस्वीकार गरेका छन् । उनीहरूले स्वतन्त्र उम्मेदवार राईलाई विजयी गराएका छन् । 

लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले खानेपानीको समस्या समाधानलाई नै चुनवी मुद्दा बनाएका थिए । मंगलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावटलाई रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । ‘धरानको पहिलो समस्या भनेको खानेपानी हो, परियोजना संचालन हुँदा पनि खानेपानीको अभाव भइरहेको छ । यसको समाधान नै मेरो पहिलो प्राथमिकतामा रहेको छ,’ पदभार ग्रहण गर्दै राईले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

मेयर साम्पाङले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख रहेका छन् । यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुखबाट मनोनीत एकजना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरी सुझाव दिने मेयर राईले जानकारी दिए ।  

सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।