मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार ०७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार ०७:०३:००

काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न थालिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर लैजान थालिएको हो ।

काठमाडौं महनगरका अनुसार मंगलबार एक सय १५ ट्रक फोहोर बन्चरेडाँडा लगिएको छ । नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरेको थियो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा महानगरपालिकाले सोमबार राति नै फोहोर विसर्जनका लागि बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा काठमाडौंबाट ट्रक पठाइएको थियो । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमनसमेत गरेकी थिइन् । उपत्यकामा लामो समय रोकिएको फोहोर ३ जेठबाट मात्र उठ्न थालेको थियो । 

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएकी थिइन् । 

काठमाडौंमा नयाँ जनप्रतिनिधि आउनुअगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।

स्थानीयले केही विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै महानगरअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताइन् ।