१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टेकराज थामी काठमाडौं
२०७९ जेठ १० मंगलबार ०८:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाण्डेविरुद्ध उजुरी गर्नेको संख्या तीन पुग्यो 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०८:३३:००

सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन तथा ओसारपसार कसुर र यौन दुर्व्यवहार मुद्दामा पाँच दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंबाट पाण्डेविरुद्ध सोमबार थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको हो । 

म्याद थप गर्नुअघि पीडित युवतीलाई अदालतले उपस्थित गराएर बयान प्रमाणित गरेको थियो । यौन दुर्व्यवहारमा परेकी अर्की बालिकाले भने आइतबार नै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दिएकी थिइन् । म्याद थपपछि दुवै घटनासम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । पाण्डेविरुद्ध पीडित युवतीका बुबाले प्रहरीमा जाहेरी दिएका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले पाण्डेविरुद्ध पाँच दिनको म्याद थप भएको बताए । ‘युवती बलात्कार आरोपमा पक्राउ परेका पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत पाँच दिनको म्याद थप भएको छ । अनुसन्धानका लागि अब बाटो खुलेको छ । घटनासम्बन्धमा आवश्यक प्रमाण जुटाउने काम अघि बढिसकेको छ,’ उनले भने ।


एसपी दिनेश मैनाली
युवती बलात्कार आरोपमा पक्राउ परेका पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत पाँच दिनको म्याद थप भएको छ । अनुसन्धानका लागि अब बाटो खुलेको छ । घटना सम्बन्धमा आवश्यक प्रमाण जुटाउने काम अघि बढिसकेको छ ।

पीडित युवतीले सार्वजनिक गरेको भिडियो बयानअनुसार पाण्डेले ०७१ भदौको तेस्रो साता होटेल एभरेस्टमा बोलाएर जबर्जस्ती करणी गरेका थिए । बलात्कार गरेको भिडियो खिचेका उनले युवतीलाई ब्ल्याकमेल गरी ६ महिनासम्म पटक–पटक बलात्कार गरेका थिए । यसक्रममा उनले अन्य व्यक्तिसँगसमेत यौनसम्बन्ध राख्न लगाएका थिए । बलात्कारकै कारण डिप्रेसनमा पुगेकी युवतीले कसुर भएको आठ वर्षपछि घटना सार्वजनिक गरेकी थिइन् । तर, हदम्यादका कारण उनले बलात्कार कसुरमा पाण्डेविरुद्ध किटानी जाहेरी दिन सकिनन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले बलात्कार कसुरमा किटानी जाहेरी दिन नमिलेपछि मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप भएको बताए । 

विवादपछि ‘मिस ग्लोबल इन्टरनेसनल’को सिरिज बन्द भए पनि पाण्डेको मोडेल भिसाज कन्सल्टेन्सी भने चली नै रहेको थियो । कन्सल्टेन्सीले मोडल बनाइदिने प्रलोभनमा युवतीलाई सम्पर्कमा ल्याउँथ्यो । फोटो सेसन गथ्र्यो । यहीक्रममा १७ वर्षीया सलिना शर्मा (परिवर्तित नाम) सँग उनले सम्पर्क बढाए । मोडल बनाइदिने प्रलोभन दिए । प्रतिष्ठित मिडियामा फोटो छपाइदिने, म्युजिक मिडियोमा खेलाइदिने प्रलोभन दिए । सलिना प्रभावित भइन् । 

पाण्डेले भेट्नका लागि उनलाई होटेल एभरेस्टमा बोलाए । सलिना होटेल एभरेस्ट पुगिन् । पाण्डे होटेलको रेस्टुरेन्टमै बसेको देखिन् । गएर भेटिन् । तर, पाण्डेको व्यवहार सलिनालाई असहज लाग्यो । किनकि, भेटका क्रममा पाण्डेले सलिनालाई छुने, चलाउने, द्विअर्थी शब्द प्रयोग गर्नेलगायतका गतिविधि गरेका थिए । बल्लतल्ल सलिना पाण्डेबाट उम्किइन् । तर, उनले धेरै महिनासम्म दुःख दिए । घटनाबाट आजित उनी चुपचाप थिइन् । जब उनीविरुद्ध आठ वर्षअघिको बलात्कार घटना सतहमा आयो, उनी प्रहरीको सम्पर्कमा पुगेकी हुन् । 

घटना अनुसन्धानमा संलग्न अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले पाण्डेविरुद्ध थप अर्की किशोरी पनि किटानी जाहेरी दिने तयारीमा रहेको बताए । ‘यौनहिंसामा परेकी एक किशोरीले आइतबार नै प्रहरीमा किटानी जाहेरी दिइन् । अहिले अर्की किशोरी पनि यौनहिंसामा परेको भन्दै सम्पर्कमा आएकी छन् । उनको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धान हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार पाण्डेले यौनहिंसा गरेको भन्दै आइतबार नै एक किशोरीको किटानी जाहेरी महानगरीय प्रहरी कार्यालय टेकुमा परिसकेको छ । उनलाई पनि पाण्डेले मोडल बनाइदिने प्रलोभन दिएका थिए । प्रतिष्ठित मिडियामा फोटो प्रकाशन गरिदिने भनेका थिए । लोभिएकी उनी फोटो सुट गर्न होटेल एभरेस्टमै पुगेकी थिइन् । सोहीक्रममा उनलाई पाण्डेले यौनहिंसा गरेका थिए ।