
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको छ । अवतरणका क्रममा चरा ठोक्किएको हुन सक्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।
जहाजको नोजमा केही रगतको दाग देखिएकाले चरा ठोक्किएको अनुमान गरिएको छ । बिहान २ बजे एक सय २१ यात्रु लिएर जहाज अवतरण गरेको थियो । करिब ६० यात्रु लिएर उडान भर्ने तयारीमा रहेको जहाजको अगाडिको भागमा रगत देखिएपछि विमान उडानमा ढिलाइ भएको छ ।
यात्रुहरूलाई होटेलमा राखिएको छ । काठमाडाैंबाट इन्जिनियरको टोली आएर चेकजाँच गरेपछि मात्रै जहाजले उडान भर्ने जनाइएको छ । बाहिरबाट हेर्दा सामान्य देखिएको छ, तर जहाजका पाइलटले सबै चेक गरेर मात्र उडान भर्ने जनाएपछि काठमाडाैंबाट प्राविधिक बोलाइएको दाहालले बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।