१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
पिटर ओबर्न
२o८१ बैशाख २४ सोमबार o७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

असान्जको सुपुर्दगी : अत्याचारी राज्यलाई पुरस्कार

जुलियन असान्जलाई अमेरिका उड्ने जहाजमा जुन दिन राखिनेछ, त्यस दिन खोज पत्रकारिताले स्थायी एवं घातक चोट व्यहोर्नेछ

Read Time : > 2 मिनेट
पिटर ओबर्न
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२२:oo

बेलायती गृहमन्त्री प्रीति पटेलले केही दिनमा अभिव्यक्ति स्वतन्त्रताबारे सबैभन्दा महत्‍वपूर्ण निर्णय जारी गर्नेछिन् । उनले जासुसी आरोपमा जुलियन असान्जलाई सुपुर्दगी गर्न अमेरिकी अनुरोधमा सहमत हुने या नहुनेबारे निर्णय गर्नुपर्नेछ । सो निर्णयले असान्जको जीवनमा ठूलो प्रभाव पार्नेछ । यदि अमेरिका सुपुर्दगी भए असान्जलाई निश्चय नै आफ्नो बाँकी जीवनका लागि अधिकतम सुरक्षा व्यवस्था भएको कठोर जेलमा जाकिनेछ र उनले जेलमै ज्यान गुमाउनेछन् ।

बेलायती पत्रकारितामा पनि असान्जको सुपुर्दगीको निर्णयले महत्‍वपूर्ण प्रभाव पार्नेछ । प्रकाशन त परको कुरो भयो, अमेरिकी सरकारी स्रोतबाट आएका कागजात हेर्नु पनि खतरनाक साबित हुनेछ । अमेरिकी सरकारी सूचनाको समाचार बनाउने रिपोर्टर, सम्पादक असान्जझैँ सुपुर्दगी भोग्ने र बाँकी जीवन जेलमा पर्ने जोखिममा हुनेछन् । यिनै सम्भावित परिणाम निम्तिने भएकाले भियतनाम युद्धको अन्त्य गर्न भूमिका खेलेका र राज्यबाट प्रताडित भएका ९१ वर्षीय अमेरिकी ह्विसलब्लोअर (मुखबिर) ड्यानियल एल्सबर्ग असान्जको प्रतिरक्षामा साक्षी बसेका छन् । उनले लाओस र कम्बोडियामा गोप्य ढंगले बम विस्फोटको खुलासा गर्ने पेन्टागन पेपर्स बाहिर निकालेका थिए । उनले असान्जको खुलासा अमेरिकी इतिहासमा सबैभन्दा महत्‍वपूर्ण भएको बताएका थिए ।

अमेरिका असान्ज एक पत्रकार नभई जासुस थिए र उनले सजाय पाउनुपर्छ भन्ने दाबी गर्छ । जासुसीका सन्दर्भमा दाबीको औचित्य पुष्टि गर्न सकिन्छ । तर, असान्ज एक असाधारण पत्रकार हुन् । कम्प्युटरबारे उनको गहिरो ज्ञान र कम्प्युटरलाई कसरी ह्याक गर्न सकिन्छ भन्ने कुराले उनलाई व्यावसायिक रूपमा अन्य पत्रकारभन्दा भिन्न बनाएको थियो । उनले सन् २००६ मा वर्गीकृत वा गोप्य कागजात संकलन र खुलासा गर्ने संगठन विकिलिक्स सुरु गर्न मद्दत गरेका थिए जसले विश्वभरका सरकार र निगमलाई क्रुद्ध बनाएको थियो । सन् २०१० मा विकिलिक्स आधुनिक युगको सबैभन्दा ठूलो सहकार्यमा संलग्न भएको थियो जसमा गार्जियन, डेर स्पिगल, ले मोन्डे, न्युयोर्क टाइम्स र अन्य अन्तर्राष्ट्रिय समाचार संस्था थिए । र, विकिलिक्सले अमेरिकी सेनाको गुप्तचर विशेषज्ञ चेल्सी म्यानिङले उपलब्ध गराएका कागजात सार्वजनिक गर्न थाल्यो ।

विकिलिक्स र म्यानिङले उच्चस्तरका (स्कुप) खुलासालाई सतहमा ल्याएका थिए जुन हरेक आत्मसम्मान भएका पत्रकारको महत्‍वाकांक्षा हुने गर्छ । र, यी दैनिक पत्रिकाको पाना भर्ने चानचुने खुलासा थिएनन् । यी खुलासा विश्वव्यापी महत्‍वका छन् जसले इराक युद्ध र ‘वार अन टेरर’बारे हाम्रो धारणा परिवर्तन गरेका छन् ।

उदाहरण, विकिलिक्सले एक भिडियो जारी गरेको थियो जसमा इराकमा निहत्था नागरिकलाई गोली हानेर मारेपछि हेलिकोप्टरमा रहेका अमेरिकी सेना हाँसिरहेका थिए । ती गोलीको निसानामा रोयटर्सका फोटोग्राफर र उनका सहायक पनि परेका थिए । र, गोली चलाउने अपराधीलाई अमेरिकी सेनाले अझै दण्ड दिएको छैन । विकिलिक्सले इराकमा नागरिक हताहतीको संख्या ६६ हजार रहेको बताएको थियो र यो आँकडाले अमेरिकालाई ठेस पुर्‍यायो किनभने मृत्यु संख्या अमेरिकाले स्वीकार गरेको भन्दा उल्लेखनीय रूपमा बढी थियो । विकिलिक्सले ग्वान्टानामो बेमा मुसलमान कैदीमाथि गरिएको नृशंस व्यवहारलाई उजागर गरेको थियो, जहाँ एक सय ५० मानिसलाई वर्षौँसम्म अभियोजनविनै थुनिएको थियो । मानवअधिकार संगठन रिप्राइभका तत्कालीन अध्यक्ष एवं वकिल क्लाइभ स्टाफर्ड स्मिथले ८४ ग्वान्टानामो बन्दीको प्रतिनिधित्व गरेका थिए र आफ्ना सेवाग्राहीविरुद्ध लगाइएका आरोप गलत छन् भन्ने प्रमाणित गर्न विकिलिक्सले गरेको सहयोगका लागि प्रशंसा गरेका थिए । यस सन्दर्भमा अमेरिकाले असान्जविरुद्ध किन आपराधिक छानबिन सुरु गर्‍यो भन्ने स्पष्ट हुन्छ । 

सन् २०१० नोभेम्बरमा स्विडेनले असान्जलाई यौन दुव्र्यवहारको मामिला पक्राउ पुर्जी जारी गरेपछि परिस्थितिले अप्रत्यासित मोड लिएको थियो । असान्जले यी आरोप अमेरिकामा सुपुर्दगीका लागि लगाइएको भन्दै स्विडेन जान अस्वीकार गरेपछि लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए । कहिल्यै अपराधीको आरोप नलगाएको स्विडेनले असान्जविरुद्धको अनुसन्धानलाई अन्ततः सन् २०१९ मा खारेज गर्‍यो ।  

सन् २०१९ मा जुलियन असान्जको जीवनमा ठूला परिवर्तन भए । उनलाई दूतावासबाट बाहिर निकालियो र जमानत तोडेको आरोपमा छिट्टै पक्राउ गरियो र त्यसयता उनी तीन वर्षदेखि बेलमार्स जेलमा छन् । यसैबीच अमेरिकाले एल्सबर्गलाई अभियोग लगाउन असफल भएको सन् १९१७ को जासुसी ऐनअन्तर्गत उनको खोजी गरिरहेको छ । असान्जका वकिलद्वय ग्यारेथ पियर्स र एडवर्ड फिट्जगेराल्ड क्युसीले उनको एक मात्र अपराध खोजी पत्रकारिता हो भन्ने बताएका छन् । वकिलद्वयका अनुसार असान्जलाई गोप्य सूचना दिने म्यानिङ अर्थात् स्रोतव्यक्तिको पहिचान नखुलाउने पत्रकारिताको सामान्य मानकीय अभ्यासका लागि कानुनी कारबाही गरिँदै छ । वास्तवमा स्रोतव्यक्तिको नाम नखुलाउने आधारभूत अभ्यास पालना नगर्दा पत्रकारले आफ्नो पेसाबाट हात धुनुपर्ने हुन्छ । 

असान्जको काम पत्रकारिता हो भन्ने तथ्यका बाबजुद गृहमन्त्री पटेल असान्जको सहयोगमा आउनेमा विश्वास गर्ने ठाउँ कमै छन् । तथापि असान्जलाई सुपुर्दगीबाट जोगाउने अन्य थुप्रै कानुनी उपाय हुन सक्छन् । पटेल आधुनिक बेलायती इतिहासकै सबैभन्दा अत्याचारी गृहमन्त्री हुन् भन्ने तथ्यलाई एकातिर राख्दा पनि पहिल्यै जो बाइडेनसँग सम्बन्ध बिगारेका प्रधानमन्त्री बोरिस जोन्सन प्रशासनले अमेरिकी राष्ट्रपति चिढ्याउने सम्भावना कम छ ।

असान्जलाई अमेरिका उड्ने जहाजमा जुन दिन राखिनेछ त्यस दिन खोज पत्रकारिताले स्थायी एवं घातक चोट व्यहोर्नेछ । र, यसले अमेरिका मात्र नभई विश्वका सबै मुलुकका युद्ध अपराधीले निस्फिक्री ढंगले अपराध गर्ने छुट पाउनेछन् । द गार्जियनबाट

ad
ad