१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिब्बती शरणार्थीप्रति अमेरिकी उपविदेशमन्त्री जियाको ‘अतिरिक्त’ चासो

नेपालले भन्यो– छिमेकीको सुरक्षा संवेदनशीलताप्रति नेपाल प्रतिबद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२६:oo

तिब्बती शरणार्थीप्रति अमेरिकाले देखाएको ‘अतिरिक्त’ चासोप्रति नेपालले ‘असन्तुष्टि’ जनाएको छ । तिब्बती शरणार्थीप्रति अमेरिकी चासोमा सरकारले नेपालको भूराजनीतिक अवस्थिति बुझिदिन आग्रह पनि गरेको छ । तीनदिने नेपाल भ्रमणमा रहेकी मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया सरकारको औपचारिक अनुमतिविनै शरणार्थी शिविर पुगेकी छिन् । जियाले जावलाखेल, बौद्ध र स्वयम्भूस्थित शरणार्थी शिविरको अवलोकन गरेकी थिइन् । 

शुक्रबार काठमाडौं आएलगत्तै दौडधुप थालेकी जियाले तिब्बती शरणार्थीका प्रतिनिधिसँग चरणबद्ध रूपमा भेटवार्ता गरेकोमा सरकारले असन्तुष्टि जनाएको छ । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटेर तिब्बती शरणार्थीबारे खुलेरै चासो व्यक्त गरेकी थिइन् ।

अमेरिकी चासोको सम्मान गरेको नेपालले छिमेकी भारत र चीनको सुरक्षा संवेदनशीलतामा नेपाल प्रतिबद्ध रहेको जनाउ दिएको छ । उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्रीपत्नी डा. आरजु देउवा, मुख्यसचिव शंकरदास बैरागी, दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदलगायतसँग अलग–अलग भेटवार्ता गरेकी थिइन् । सबै भेटमा जियाले तिब्बती शरणार्थीको शान्तिपूर्ण राजनीतिक तथा धार्मिक गतिविधि गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेकी थिइन् ।

तर, नेपाली अधिकारीले उनीहरूलाई मानवीय व्यवहार गरेको उल्लेख गर्दै सबै अमेरिकी चासो सम्बोधन हुन नसक्ने जवाफ दिएको कूटनीतिक स्रोतले बताएको छ ।प्रधानमन्त्री देउवाले नेपाल–अमेरिका सम्बन्ध तथा आपसी हितका विषयमा विचार आदानप्रदान भएको ट्विट गरेका छन् । परराष्ट्र मन्त्रालयले दुईपक्षीय सम्बन्ध तथा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल भएको जनाएको छ । 

गृहमन्त्री खाणसँग तिब्बती शरणार्थीका विषयमा सबैभन्दा बढी छलफल भएको थियो । खाणको सचिवालयका अनुसार सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको उपमन्त्री जियालाई गृहमन्त्री खाणले बताएका थिए ।

 यसमा जियाले सन्तोष व्यक्त गरेकी थिइन् । अमेरिकी विदेशमन्त्री जियाले गृहमन्त्री खाणसँग नेपालमा आधारभूत स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र संवद्र्धनका विषयमा फलदायी छलफल भएको ट्विटरमा उल्लेख गरेकी छिन् । उनले तिब्बती शरणार्थीका विषयमा उल्लेख नगरे पनि गृहमन्त्रीसँग छलफलको मुख्य विषय नै त्यही रहेको गृह स्रोतले बतायो ।गृहमन्त्री खाणले नेपाल छिमेकी भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको जवाफ दिएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वमा स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रको योगदानका लागि अमेरिकाले पु¥याएको योगदानको प्रशंसा गर्दै गृहमन्त्रीले सुरक्षा संवेदनशीलताको चर्चा गरेका थिए । 

मन्त्री खाणले भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासका लागि अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । गृहमन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणका लागि अनुरोध गरेका छन् । उपमन्त्री जियाले अर्कोपटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन् । अमेरिकी सहयोग नियोग (एमसिसी) संसद्बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको भन्दै उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन् । भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानप्रति जियाले खुसी व्यक्त गरेकी थिइन् । उनले मानव अधिकार र लोकतन्त्रका क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको थियो गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खड्कासँग जियाले दुई देशबीच सम्बन्ध आगामी ७५औँ वर्षहरूसम्म थप सुदृढ गरिरहने विषयमा छलफल भएको ट्विरमा बताएकी छिन् ।प्रधानमन्त्रीपत्नी देउवासँग उनले लैंगिक समानता, महिला उत्थानलगायत विषयमा छलफल गरेकी थिइन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भेटवार्तापछि जियाले ट्विटरमा भनेकी छिन्, ‘सबै लोकतन्त्रहरूले सबैलाई शिक्षा, स्वास्थ्य र आर्थिक अवसर सुनिश्चित गर्नुपर्छ ।’मुख्यसचिव बैरागीसँग मानव अधिकार तथा लोकतान्त्रिक स्वतन्त्रता प्रवद्र्धनका विषयमा सहकार्य गर्ने विषयमा कुराकानी भएको उनको भनाइ थियो । तर, उनले नेपालमा रहेका तिब्बती शरणार्थीसँग भएको भेटबारे ट्विटरमा केही उल्लेख गरेकी छैनन् । जिया आइतबार स्वदेश फर्केकी छिन् ।
 

ad
ad