१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ जेठ ६ शुक्रबार ०८:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका सात स्थानीय तह प्रमुखमा पुरानै अनुहार 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ जेठ ६ शुक्रबार ०८:०१:००

उपत्यकाका २१ मध्ये सात स्थानीय तह प्रमुखमा पुरानै दोहोरिएका छन् । काठमाडौंका दक्षिणकाली, चन्द्रागिरि र टोखा नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिका तथा भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका प्रमुखमा पुरानै अनुहार आएका छन् ।

ललितपुर महानगरपालिका र नागार्जुन नगरपालिका प्रमुखमा दोहोरिन खोजेका उम्मेदवार मतगणनामा अग्रस्थानमा छन् । उपत्यकाका २१ मध्ये १२ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए । ललितपुर महानगरमा चिरिबाबु महर्जन, गोदावरीमा गजेन्द्र महर्जन, दक्षिणकालीमा मोहन बस्नेत, नागार्जुनमा मोहनबहादुर बस्नेत, चन्द्रागिरिमा घनश्याम गिरीले उम्मेदवारी दिएका थिए । सबै कांग्रेस नेता हुन् । अब ललितपुर र नागार्जुनको नतिजा आउन बाँकी छ । ललितपुरको बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन र कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपीलाल सिंतानमध्ये लोप्चन विजयी भएका छन् । सिंतान पराजित भए ।

काठमाडौंको टोखा र तारकेश्वर नगरपालिकामा एमालेका क्रमशः प्रकाश अधिकारी र रामेश्वर बोहोरा दोहोरिन खोजेका थिए । भक्तपुरको मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका क्रमशः मदनसुन्दर श्रेष्ठ र वासुदेव थापा तथा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले दोहोरिन उम्मेदवारी दिएका थिए । थापा र प्रजापति विजयी भए । श्रेष्ठ पराजित बने । 

भक्तपुर नगरपालिकामा नेमकिपाका सुनील प्रजापतिले कांग्रेसका रामप्रसाद कासुलालाई पराजित गरे । चाँगुनारायण नगरपालिकामा कांग्रेसका जीवन खत्रीले एमालेकी विना बास्तोलालाई पराजित गरे । नगरपालिकामा यसअघि एमालेका सोमप्रसाद मिश्र विजयी भएका थिए । मध्यपुर ठिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले दोहोरिन चाहेका एमालेका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई पराजित गरे । सूर्यविनायक नगरपालिकामा एमालेका वासुदेव थापाले कांग्रेसका निशान ढुंगेललाई पराजित गरे ।

ललितपुरमा कांग्रेसले थप्यो एक गाउँपालिका
ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा एमालेका कृष्णमान लामा विजयी भएका छन् । उनले गठबन्धनबाट माओवादीका उम्मेदवार गोपीलाल सिंतानलाई पराजित गरे । सिंतान यसअघि अध्यक्षमा निर्वाचित थिए । गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जनले एमालेका गम्भीरबहादुर राणालाई पराजित गरे । महर्जन यसअघि पनि मेयर नै थिए । बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चनले एमालेका नवराज सञ्जेललाई पराजित गरे । महांकाल गाउँपालिकामा कांग्रेसका गणेश केसीले एमालेकी अध्यक्ष पदकी उम्मेदवार कमला लामा तामाङलाई पराजित गरे । महांकालमा यसअघि एमालेका रामचन्द्र दाहाल अध्यक्ष थिए । महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठ र माओवादीका शिवप्रसाद कट्टेलबीच कडा प्रतिस्पर्धा छ । महालक्ष्मीमा यसअघि एमालेका रामेश्वर श्रेष्ठले जितेका थिए । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा झन्डै आठ हजार मतले अगाडि छन् । 

एमालेले गुमायो उपत्यकाका ६ स्थानीय तह 
एमालेले उपत्यकाका ६ स्थानीय तह गुमाएको छ । ६ मध्ये पाँच कांग्रेस र एक राष्ट्रिय प्रजातन्त्र पार्टीले खोसेका छन् । एमालेले जितेको काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की विजयी भएका छन् । एमालेका रामशरण ढुंगाना पराजित भए । यसअघि कागेश्वरी प्रमुखमा एमालेका कृष्णहरि थापाले जितेका थिए ।

दक्षिणकाली नगरपालिका प्रमुखमा कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई पराजित गरे । गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका दीपककुमार रिसाल विजयी भए । उनले एमालेका उद्धव विष्टलाई पराजित गरे । नगरपालिकामा यसअघि कांग्रेसकै सन्तोष चालिसे निर्वाचित भएका थिए । चन्द्रागिरि नगरपालिका मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन् । उनले एमालेका उत्तमबाबु राउतलाई पराजित गरे । कीर्तिपुर नगरपालिका यसपटक कांग्रेसले एमालेबाट खोसेको छ । नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी विजयी भए । एमालेका केशरत्न बज्राचार्य पराजित भए । यसअघि कीर्तिपुरमा एमालेका रमेश महर्जन निर्वाचित भएका थिए । यसअघि एमालेले जितेको तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन विजयी भए । उनले एमालेका रामेश्वर बोहरालाई पराजित गरे ।

टोखा नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी नै विजयी भएका छन् । उनले कांग्रेसकी रजनी थापालाई पराजित गरे । यसअघि पनि टोखामा एमालेका प्रकाश अधिकारी नै विजयी भएका थिए । बुढानीलकण्ठ नगरपालिकामा एमालेका मिठाराम अधिकारी विजयी भएका छन् । उनले कांग्रेसका विनोद चालिसेलाई हराए । यसअघि बुढानीलकण्ठमा एमालेका उद्धव खरेल नगर प्रमुख थिए । शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । ०७४ को निर्वाचनमा एमालेका सुवर्ण श्रेष्ठ मेयर थिए । नागार्जुन नगरपालिकामा कांग्रेसका मोहनबहादुर बस्नेत अगाडि छन् । एमालेका नन्दहरि गौतमले बस्नेतलाई पछ्याइरहेका छन् ।