१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ २ सोमबार ०८:११:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

Read Time : > 5 मिनेट
२०७९ जेठ २ सोमबार ०८:११:००
  • प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै, ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, पर्यटनमा कोसेढुंगा बन्ने अपेक्षा 
  • जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै, अरू एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको पनि चासो
  • अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, सेक्युरिटीलगायत सबै शुल्क शतप्रतिशत छुट दिने क्यानको तयारी


नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सञ्चालनमा आएको करिब ७४ वर्षपछि सोमबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । बुद्धजयन्तीको अवसर पारेर सञ्चालनमा ल्याउन लागिएको विमानस्थल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् । बिहान सात बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेमबहादुर आले, गृहमन्त्री बालकृष्ण खाणसहितको टोली आइतबार नै भैरहवा आइपुगेको प्रवक्ता श्यामकिशोर शाहले बताए । यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गर्दै छ ।

जजिराको न्यारोबडी विमान बिहान सात बजे विमानस्थलमा अवतरण गर्ने तालिका रहेको प्रवक्ता शाहले बताए । त्यसअघि नै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज काठमाडौंबाट गौतम बुद्ध विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहान ६ बजे भैरहवामा ‘प्रमोसनल सेड्युल फ्लाइट’ गर्न लागेको हो, यसका लागि यात्रुसँग टिकटसमेत काटेको छ ।’

विमानस्थल उद्घाटनको दिन नियमित र चार्टर गरी ८–१० वटा अन्तर्राष्ट्रिय उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अपेक्षा गरेको थियो । तर, अहिलेसम्म जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गर्ने तय भएको छ । निगमले ठूलो जहाजबाट काठमाडौं–भैरहवा आन्तरिक उडान गर्न लागेको हो । ‘अहिलेसम्म अरू नियमित र चार्टर उडानको प्रस्ताव आएको छैन,’ विमानस्थलका प्रवक्ता शाहले भने, ‘भैरहवा उडान गर्न धेरैले चासो देखाएका छन्, उडान थपिँदै जानेछन् ।’

गौतम बुद्धलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । त्रिभुवन विमानस्थल करिब स्याचुरेसनमा पुगिसकेको हुँदा गौतम बुद्ध विमानस्थलको भविष्य सुनौलो रहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । दोस्रो विमानस्थल सञ्चालनमा आएसँगै अब त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर जहाज डाइभर्ट गर्नुपरेमा भारतको लखनउ, दिल्ली वा बंगलादेश पुग्नुपर्ने समस्या पनि हटेको छ । अब अन्तर्राष्ट्रिय जहाज डाइभर्ट गर्नुपरेमा भैरहवा विमानस्थलमा अवतरण हुने क्यानले जनाएको छ । भैरहवा उडानका लागि अहिलेसम्म जजिराले मात्र अनुमति लिए पनि नेपाल एयरलाइन्ससहित एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले चासो देखाएको प्रवक्ता शाहले बताए । नेपाल एयरलाइन्स, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, चिनियाँ एयरलाइन्सलगायतले भैरहवा उडानका लागि चासो देखाएका छन् । 

 चार वर्ष ढिलो सञ्चालनमा
०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी सञ्चालनमा आउन लागेको हो । चिनियाँ कम्पनी ‘नर्थ–वेस्ट सिभिल एभिएसन’ले जनवरी २०१५ देखि निर्माण सुरु गरेको विमानस्थल सन् २०१७ को डिसेम्बरसम्म सम्पन्न गर्नुपर्ने थियो । तर, त्यो अवधिमा करिब २७ प्रतिशत हाराहारी निर्माण सम्पन्न भएको थियो । निर्माणमा ढिलाइ हुँदा सहुलियत ऋणदाता एसियाली विकास बैंक (एडिबी)ले सन् २०१८ मा रकम दिन नसक्ने भन्दै हात झिक्न खोजेको थियो । तर, क्यानले विमानस्थल निर्माणको कामलाई चुस्तता दिएर एडिबीलाई विश्वासमा लिएको महानिर्देशक अधिकारीको भनाइ छ । 

विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, बर्सातपछिको डुबान, मधेसकेन्द्रित बन्द–हडताल, कोभिड महामारी, निर्माण कम्पनी र निर्माण सामग्री उपलब्ध गराउने स्थानीय ठेकेदारहरूको लापरबाही, निर्माण सामग्रीको अभावलगायत विविध कारणले विमानस्थल निर्माणमा ढिलाइ भएको हो । विमानस्थल निर्माण र जग्गा अधिग्रहणमा करिब ३२ अर्ब रुपैयाँ लगानी भइसकेको छ । सुरुमा ६ अर्ब २२ करोड लागतमा सिभिल निर्माण सुरु गरिए तापनि लागत बढेर आठ अर्ब ८२ करोड पुगेको बताइएको छ । कम भिजिबिलिटीमा पनि उडान–अवतरण गर्न सक्ने गरी विमानस्थल निर्माण गर्दा बजेट पनि बढेको परियोजनाले जनाएको छ । साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो, जसमा २३ अर्ब रुपैयाँ खर्च भएको छ । अझै दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङलगायत करिब २५ अर्ब हाराहारी लगानीको काम बाँकी रहेको महानिर्देशक अधिकारीले बताए ।

१७ फागुन ०२३ मा तत्कालीन युवराज स्व. वीरेन्द्र शाहबाट उद्घाटन भएको गौतम बुद्ध विमानस्थललाई ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गरिएको हो । तीन हजार मिटर लामो र ४५ मिटर चौडाइको धावनमार्ग बनेपछि पुरानो १५ सय मिटरको धावनमार्ग ट्याक्सी वेमा परिणत भएको छ । धावनमार्गको पूर्व ‘रनवे टुएट’ र पश्चिमको ‘रन वे टू जिरो’ दुवैतर्फबाट जहाज अवतरण गर्न सकिन्छ । विमानस्थलमा हवाई सेवा सुरु गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता शाहले बताए । ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले सम्हालिसकेको छ । 

विमानस्थलमा एरो थाईको विशेष विमानले ६ फागुनदेखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) उडान गरेको थियो । क्यानले १५ वैशाखमा निगमको वाइडबडी विमानबाट अप्रेसन डोमेस्ट्रेसन फ्लाइट गरेको छ । त्यसअघि नै ८ वैशाखदेखि विमानस्थलको नयाँ धावनमार्ग खुला भएर आन्तरिक उडान–अवतरण भइरहेको छ । यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले १६ वैशाखमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई प्रमाणपत्र दिएको छ । 

 पर्यटन व्यवसायीहरू उत्साहित
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद कुरा भएको सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बताए । 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि तारे होटेलमा ठूलो लगानी ओइरिएको छ । दुईवटा पाँचतारे होटेल सञ्चालनमा आइसकेका छन् भने आधादर्जन पाँचतारे निर्माणाधीन अवस्थामा छन् ।

भारतीय सीमासँग जोडिएको नगर भएकाले विमानस्थल खुलेसँगै नेपाल–भारत सीमानाका पनि २४सै घन्टा खोल्ने वातावरण बनाउनुपर्ने होटेल मौर्यका सञ्चालक रामबहादुर कोइरीले बताए । गौतम बुद्ध विमानस्थलबाट धार्मिक पर्यटनका लागि लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारी, गुल्मीको रुरु–रेसुंगालगायतका धार्मिक स्थानसम्म जान सकिने भएकाले पनि यो उपयुक्त विमानस्थल भएको व्यवसायीहरूको तर्क छ ।

व्यावसायिक भविष्य उज्ज्वल
त्रिभुवन विमानस्थल करिब स्याचुरेसनमा गइसकेको छ । यो विमानस्थलको अधिकतम क्षमता वार्षिक ९२ लाख यात्रुलाई सेवा दिने हो । नेपालमा बर्सेनि १० लाखका दरले हवाई यात्रु बढिरहेको महानिर्देशक अधिकारी बताउँछन् । सन् २०१८ मा हवाई यात्रु ७२ लाख पुगेका थिए । यदि कोभिड नफैलिएको भए सन् २०२२ सम्म हवाई यात्रु एक करोड नाघिसकेका हुन्थे । 

‘महामारी नफैलिएको भए त्रिभुवन विमानस्थलमा थप उडानलाई अनुमति दिन नसक्ने भनेर घोषणा गरिसकेका हुन्थ्यौँ,’ अधिकारीले भने, ‘वर्षको १० लाख हवाई यात्रु बढ्दा २० वर्षमा दुई करोड यात्रु थपिनेछन्, अब भैरहवाको गौतम बुद्ध र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र पुग्दैन, हामीले बढ्दो ट्राफिक धान्न निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल नबनाइ हुँदैन ।’

पश्चिमतर्फको प्रवेश बिन्दु दिन भारतको आनाकानी 
भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा होस् वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका वेला होस्, नेपालले भैरहवाका लागि पश्चिमतर्फको हवाई प्रवेश बिन्दु माग्दै आइरहेको छ । तर, भारतीय पक्षले पश्चिमतर्फको प्रवेश बिन्दु दिन आनाकानी गर्दै आइरहेको छ । 

गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पनि नयाँ प्रवेश बिन्दु माग गरिएको थियो । तर, भारतले कुनै प्रतिक्रिया दिएन । बुद्धजयन्तीको अवसर  पारेर सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । यसपटक पनि भारतीय प्रधानमन्त्रीसँग नेपालले नयाँ प्रवेश रुट माग्ने तयारी रहेको क्यानले जनाएको छ ।

भारतले पश्चिमतर्फको प्रवेश बिन्दु नदिँदा भैरहवा आउने अन्तर्राष्ट्रिय जहाज सिमरा हुँदै नेपाली भूमि प्रवेश गरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्नुपर्ने हुन्छ । कुवेतको जजिरा एयरवेज पनि सिमरा हुँदै गौतम बुद्ध विमानस्थलमा अवतरण गर्नेछ । यस्तै, मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्थाका लागि बन्दोबस्तीका सामान लिएर भारतीय वायुसेनाको जहाज पनि सिमरा हुँदै नेपाल प्रवेश गरेर भैरहवा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । पश्चिमा मुलुकबाट आउने जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गर्न नेपालगन्ज वा धनगढी प्रवेश बिन्दु सहज हुने 
बताइएको छ ।

वायुसेवा आकर्षित गर्न छुट सुविधा
क्यानले भैरहवामा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न विभिन्न प्रकारका छुट–सहुलियत दिने भएको छ । क्यानले भैरहवा उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, सेक्युरिटी, उड्डयन सहायतालगायत सम्पूर्ण सेवामा शतप्रतिशत छुट दिने निर्णय गरी स्वीकृतिका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी पर्यटक र नेपाली कामदरका श्रम गन्तव्य खाडी मुलुकमा उडानहरू हुने भएकाले गौतम बुद्ध विमानस्थल राम्रोसँग सञ्चालन हुने क्यानको विश्वास छ । यस्तै, भैरहवामा बौद्धमार्गी देशहरू चीन, जापान, कोरिया, भियतनाम, श्रीलंकालगायत मुलुकबाट सीधा उडान हुने अपेक्षा छ । भैरहवालाई कामदार मात्र बोक्ने विमानस्थल नभएर पर्यटक बोक्ने विमानस्थलका रूपमा अगाडि बढाउनुपर्ने पर्यटन व्यवसायी वसन्त मिश्रले बताए । पर्यटक आउने मुलुकमा व्यापक मार्केटिङ गरेर वायुसेवा आकर्षित गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

गौतम बुद्धलाई पर्यटक बोक्ने विमानस्थल बनाऔँ : वसन्त मिश्र पर्यटन व्यवसायी

देशमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, जुन गर्वको विषय हो । गौतम बुद्ध विमानस्थलमा थोरै भिजिबिलिटीमा पनि जहाज ल्यान्ड गर्न सकिन्छ । हामीले भैरहवा विमानस्थलबाट फाइदा लिन सक्नुपर्छ । लुम्बिनीलाई बुद्धिस्ट पर्यटकको हब बनाउनुपर्छ । क्यानले विमानस्थल निर्माण सुरु गर्नेबित्तिकै व्यापक मार्केटिङ गर्नुपथ्र्यो, त्यो भएको देखिएन । अब धेरैभन्दा धेरै उडानहरू सञ्चालन गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्छ ।

कुवेतको जजिरा एयरवेजले नेपालको लेबर मार्केट हेरेर उडान गर्न लागेको हो । जजिराले पर्यटक भित्र्याउँदैन । भैरहवा विमानस्थलको मुख्य उद्देश्य नै देशमा विदेशी पर्यटक बढाउने हुनुपर्छ । भैरहवाबाट पर्यटक आउने मुलुकमा उडान गर्नुपर्छ । चार्टर उडानहरू ल्याउन सक्नुपर्छ । क्यानले विदेशी वायुसेवा आकर्षित गर्न निश्चित अवधिसम्म छुट सुविधा दिएर सस्तो विमानस्थलका रूपमा मार्केटिङ गर्नुपर्छ । विश्वमा बौद्धमार्गीको संख्या २५ प्रतिशतभन्दा बढी हुनाले भैरहवा विमानस्थलको महत्व धेरै छ ।