नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कहीँ नहुने जात्रा केपी ओली प्रधानमन्त्री हुँदा देखिएको बताएका छन्। निर्माणाधीन आयोजनाको उद्घाटन गरेकोप्रति कटाक्ष गर्दै नेपालले यस्तो बताएका हुन्।
काठमाडौंको शान्तिबाटीकामा शुक्रबार जारी सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षपछि सम्पन्न हुने परियोजनाको समेत ओलीले उद्घाटन गर्ने गरेको उल्लेख गरे। ‘६ महिना–एक वर्षपछि सम्पन्न हुने परियोजनाहरूलाई आजै उद्घाटन गरिदिने। पाँच वर्षपछि सम्पन्न हुनेलाई आजै उद्घाटन गर्ने। यी सबै कहीँ नहुने जात्रा केपी ओलीको पालामा हामीले देख्न पायौँ,’ उनले भने, 'यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनुहुँदैन।’
देशलाई राम्रो दिशामा अघि बढाउने पवित्र उद्देश्य राखेर गठबन्धन गरिएको अध्यक्ष नेपालले प्रस्ट पारे। गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी साझा उम्मेदवार सिर्जना सिंहको प्रस्तुतिबाट आफू निकै प्रभावित भएको पनि उनले बताए।