मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख १५ बिहीबार १६:३३:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

अध्यागमनसँग भिजिट भिसामा खाडी मुलुक जानेको रेकर्ड छ, फर्किनेको छैन

तीन महिनामा १७ हजार २४८ नेपाली दूबई पुगे

Read Time : > 3 मिनेट
२०७९ बैशाख १५ बिहीबार १६:३३:००

सरकारले गत माघदेखि भिजिट भिसामा कडाइ गरे तापनि पछिल्लो तीन महिनामा मात्रै ३३ हजार सात सय सातजना नेपाली भिजिट भिसाकै प्रयोग गरेर खाडी मुलुक र मलेसिया पुगेका छन्। तीमध्ये कतिपय भिजिट भिसालाई टेको बनाएर एजेन्टमार्फत रोजगारका लागि दुबईलगायतका मुलुक पुग्ने गरेका हुन्। 

अध्यागमन विभागका अनुसार पछिल्लो तीन महिनामा ३३ हजार सात सय सातजना व्यक्ति दुबई, मलेसिया, साउदी, बहराइन, कतार र ओमनमा पुगेका छन्। भिजिट भिसाकै प्रयोग गरेर खाडीलगायत मुलुक पुगेका प्रायः व्यक्ति तोकिएको समयमा भने फर्कँदैनन्। भिजिट भिसामा त्यहाँ पुगेका अधिकांश लुकिछिपी काम खोजेर बस्नछन्। कोही एजेन्टमार्फत एक देश हुँदै अर्को देशमा समेत पुग्छन्।

विभागको तथ्यांकअनुसार भिजिट भिसामा सबैभन्दा बढी नेपाली जाने खाडी मुलुक दुबई हो। जहाँ तीन महिनामा १७ हजार दुई सय ४८ जना पुगेका छन्। उनीहरू तोकिएको समयमा नेपाल फर्किएको रेकर्ड भने विभागसँग छैन। सोही अवधिमा कतारमा दुई सय ९७ जना, साउदी अरबमा दुई सय २८ जना, ओमनमा एक सय १६० जना, मलेसियामा एक सय दुई जना र बहराइनमा ५९ जना व्यक्ति भिजिट भिसामा गएका छन्। 

भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने र लुकिछिपी बस्नेको संख्या बढेपछि गृह मन्त्रालयले १० माघदेखि भिजिट भिसामा जान प्रतिबन्ध लगाएको थियो। निर्णय अव्यावहारिक भएको आलोचनापछि तीन दिनमै उक्त निर्णय गृहले फिर्ता लिएको थियो। भिजिट भिसामा कडाइ गर्दा उपचार तथा अत्यावश्यक कामले ती देशमा जानेलाई समस्या हुने भन्दै अध्यागमन विभागले नै गृहलाई कडाइ नगर्न आग्रह गरेको थियो। भिजिट भिसामा गएकाहरूको तथ्यांक मात्रै विभागसँग छ, तर फर्केको तथ्यांक भने छैन। 

‘भिजिट भिसामा गएकाहरू तोकिएको समयमा आउँदैनन्,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘दलाल वा एजेन्टमार्फत भिजिट भिसाको प्रक्रिया पुर्‍याएर उनीहरू विदेश जान्छन्, तर तोकिएको समयमा फर्किएर आउँदैनन्।’ उनका अनुसार भिजिट भिसामा गएकाहरूलाई सम्बन्धित देशले कडाइ गरे मात्रै ‘भिजिट भिसा’को दुरुपयोग हुँदैन। अन्यथा नेपालबाट कडाइ गर्न सक्ने कुनै आधार छैन। गृहले भिजिट भिसामा गएर अलपत्र पर्ने तथा एक मुलुक हुँदै अर्को मुलुकमा जाने संख्या बढेपछि गत मागमा ११ वटा सर्त पूरा गरेकालाई मात्रै भिजिट भिसामा पठाउने नियम जारी गरेको थियो। 

उक्त नियम र सर्तअनुसार विदेश भिजिट भिसामा जानेले १० लाख बैंक ब्यालेन्ससमेत देखाउनुपर्छ। त्यसबाहेक भिजिट भिसामा जानुको कारण कागजातसहित खुल्नुपर्छ। त्यस्तै, अध्यागमन विभागको अनुमतिपत्र, जाने मुलुक वा अंग्रेजी भाषामा दख्खललगायत सर्त गृहले जारी गरेको थियो। कडाइ गरेपछि पनि भिजिट भिसामा जानेको संख्यामा भने कमी छैन। विभागका अनुसार भिजिट भिसामा गएकाहरूमध्ये तोकिएको समयमै पाँच प्रतिशत मात्रै फर्किन्छन्। त्यसमा पनि उपचार तथा अत्यावश्यक कामले गएकाहरू छन्। 

भिजिट भिसामा अध्यागमनकै कर्मचारीको ‘सेटिङ’ 
पछिल्लो समय भिजिट भिसामा दुबई जानेको संख्या बढेको छ। स्रोतका अनुसार पछिल्लो समय भिजिट भिसा हुँदै दुबईमा नेपाली पठाउन अध्यागमनका कर्मचारीकै ‘सेटिङ’ हुने गरेको छ। दलालले मात्रै ठूलो संख्यामा भिजिट भिसामा कामदार पठाउन नसक्ने स्रोतको भनाइ छ।

भिजिट भिसामार्फत दुबई पुगेकालाई एकथरीले काम खोजेर लगाइदिने र यताबाट अर्कोथरीले ती व्यक्तिलाई निश्चित रकम लिएर पठाउने गरेको विभाग स्रोत नै बताउँछ। ‘भिजिट भिसाका दुबई गएकाहरू तोकिएको समयमा नै नेपाल फर्कँदैनन् भन्ने थाहा विभागलाई छ, तर केही कर्मचारीको मिलेमताेमा दुबईमा सहजै भिजिट भिसामा पठाइन्छ,’ स्रोतले भन्यो।

अध्यागमन विभागका कर्मचारीकै सेटिङमा भिजिट भिसाको दुरुपयोग हुँदा पनि सेटिङमा संलग्न अध्यागमनका कर्मचारी र गिरोहमाथि गृहले छानबिन भने गर्न सकेको छैन। गत माघ १० गते गृहले जानै प्रतिबन्ध लगाउने गरी अव्यावहारिक निर्णय गरेको थियो। तर, विरोधपछि उक्त निर्णय उल्टिएको थियो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भिजिट भिसामा गएका व्यक्तिहरू फर्किएको रेकर्ड राख्न अध्यागमनलाई निर्देशन दिएको बताए। ‘भिजिट भिसामा गएकाहरूले दुःख पाएपछि हामीले कडाइ गर्न खोजेका हौँ,’ उनले भने, ‘अध्यागमनलाई कडाइ गर्न निर्देशनसमेत दिएका छौँ।’

काम नपाएपछि अलपत्र 
गएको माघमा भिजिट भिसामा गएका नौजना नेपाली तीन महिनादेखि दुबईमा अलपत्र परेका थिए। एजेन्टमार्फत गएका उनीहरू काम नपाएर भौँतारिएका थिए। दुबईस्थित नेपाली दूतावासको सहयोगमा सरकारले उनीहरूलाई नेपाल फर्काएको थियो। वैदेशिक कामदार भिसामा विदेश जाँदा प्रक्रिया लामो र झन्झट हुने भएकाले अधिकांश व्यक्ति पछिल्लो समय भिजिट भिसामा विदेश जान्छन्। उनीहरूलाई पठाउने काम पनि वैदेशिक रोजगार कम्पनीहरूले नै गर्छन्। तर, १५–२० दिनसम्म बस्ने भनेर खाडी मुलुकमा पुगेकाहरू लुकेर बस्छन्। 

काम नपाएपछि कतिपय उतै अलपत्र पर्छन्। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भिजिट भिसामा जानेले आवश्यक प्रक्रिया पूरा गरे पनि तोकिएको समयमा नफर्किएको बताए। उनले भने, ‘भिजिट भिसा एउटा टेको हो, उनीहरू हामीसँग प्रक्रिया पुर्‍याएर जान्छन्, त्यसमा हामीले रोक्ने कुरा पनि भएन, तर भिजिट भिसामा गएकाहरू अलपत्र परेका पनि छन्।’ काम गर्ने मनसायले भिजिट भिसामार्फत कामदारहरू विदेश जाने गरेको उनले बताए। 

यसअघि भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गृह मन्त्रालयले माघमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले फागुन १८ गते गृह मन्त्रालयलाई ५१ पृष्ठ लामो प्रतिवेदनसमेत पेस गरेको थियो। कार्यदलले मलेसिया, खाडी, अफ्रिकन तथा जोखिम भएका मुलुकमा प्रवेश गर्ने व्यक्तिका लागि भिजिट भिसामा कडाइ गर्नुपर्ने सुझाव गृह मन्त्रालयलाई पेस गरेको थियो। त्यस्तै, भिजिट भिसामा जाने महिलाका सर्तसमेत समेटेर ‘भिजिट भिसा कार्यविधि र निर्देशिका’ बनाउन सरकारलाई कार्यदलले सिफारिस गरेको थियो। 

प्रहरीलाई समेत टाउको दुखाइ
भिजिट भिसामा गएकाहरू अलपत्र परेपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले समेत उद्धार गर्दै आइरहेको छ। दलाललाई घुस दिएर जागिरको प्रलोभनमा विदेश पुगेकाहरू खाडी मुलुकका गल्ली–गल्लीमा भौँतारिने अवस्था देखिएको ब्युरोका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनले प्रहरीले खाडीमा पुगेकालाई अध्यागमन विभागसँगको समन्वयमा उद्धार गरेको बताए। 

‘सम्बन्धित निकायले वैदेशिक रोजगारमा जानेहरूलाई परामर्श नदिँदा कैयौँ युवा रोजगारको नाममा अलपत्र पर्छन्,’ उनले भने, ‘भिजिट भिसामा जानेहरू त्यो देशको गल्ली–गल्लीमा अलपत्र परेको जानकारी हामीले पाएका छौँ।’ उनले त्यहाँ अलपत्र परेकालाई नेपाल प्रहरीले मात्रै उद्धार गर्नसमेत सम्भव नहुने बताए। भिजिट भिसामा खाडी मुलुक पुगेका कतिपय दलालको संगतले युरोप–अमेरिकासम्म पुग्ने गरेको उनको भनाइ छ।