१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ बैशाख १४ बुधबार १६:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगर महानगरका तीन बागीको अडान– कारबाहीको डर र प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ बैशाख १४ बुधबार १६:५२:००

विराटनगर महानगरपालिकामा सत्तागठबन्धनविरुद्ध मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका तीनजना बागी उम्मेदवारले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेर विराटनगर महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उमेश यादवले आफूले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्‍याएका छन् । उनले छोरालाई टिकट दिलाउन मात्र अध्यक्ष उपेन्द्र यादवले गठबन्धन गरेर आफूलाई मेयरको टिकटबाट ‘रिङआउट’ गरेको आरोप लगाउँदै १० वैशाखमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 

जसपा संघीय परिषद् सदस्य रहेका यादवले आफूलाई मेयरको सशक्त दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका थिए । तर, विराटनगरमा जसपाले गठबन्धनको निर्णयअनुसार उपमेयर मात्र आफ्नो भागमा लिएपछि आकांक्षी उमेश यादवले आफूमाथि अन्याय भएको बताउँदै आएका छन् । ‘म जसले थर्काए पनि र जस्तोसुकै प्रलोभन आए पनि उम्मेदवारी फिर्ता गर्दिनँ । चुनावी प्रतिस्पर्धा गरेरै छाडछु,’ स्वतन्त्र उम्मेदवार यादवले भने । गठबन्धनको भागबन्डाअनुसार विराटनगरमा जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । 

जसपा मोरङ अध्यक्ष राजकुमार यादवले उमेश यादवले पार्टी परित्याग गरिसकेकाले उनी बागी उम्मेदवार नभएको बताए । अध्यक्ष यादवले भने, ‘हाम्राे उहाँसँग कुनै सरोकार छैन किनकि उहाँ हाम्रो पार्टीको मान्छे नै हाेइन । उहाँको बारेमा चासो दिनुभन्दा हामी गठबन्धनको जित सुनिश्चित गराउन लागिपर्छौँ ।’ 

यस्तै, विराटनगरको प्रमुख पदमा स्वतन्त्रतर्फबाट बागी उम्मेदवारी दर्ता गराएकी माओवादी केन्द्र विराटनगर कमिटी सहसचिव केमुना ओडारी (मैनाली) ले पनि आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिइरहेकी छिन् । यद्यपि, उनको पार्टीले उनलाई वडाको तालमेल मिलेमा उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेको छ । तर, ओडारीले समावेशी सिद्धान्तको अधिकारका लागि आफ्नो स्वेच्छाले उम्मेदवारी दिएकाले पार्टीको निर्णय मान्न आफू बाध्य नहुने बताइन् । विराटनगर महानगरको उपमेयरको रूपमा आफूलाई प्रस्तुत गर्दै आएकी ओडारीले आफ्नो उम्मेदवारीबारे भनिन्,  ‘हाम्रो पनि स्वतन्त्रता हुन्छ, त्यसैले पार्टीले भन्दैमा उम्मेदवारी फिर्ता गर्न बाध्य हुँदिनँ । बरु कारबाही भोग्न तयार हुन्छु ।’

यस्तै, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी केन्द्र, विराटनगरकी सचिव नमिता न्यौपानेले पनि कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताइन् । आफू महानगरको उपमेयरको योग्य उम्मेदवार रहेकाले सबैको चाहनाअनुसार उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ । ‘मेरो उम्मेदवारी समावेशी अधिकारका लागि हो, यसैले मेरो जित सुनिश्चित छ बरु पार्टीबाट राजीनामा दिन वा कारबाही भोग्न तयार हुन्छु, तर उम्मेदवारी फिर्ता गर्दिनँ,’ न्यौपानेले नयाँ पत्रिकासँग भनिन् ।  
विराटनगर महानगरमा एमालेले शिल्पा कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । कोसी अस्पताल विकास समिति सदस्यमा बहाल रहेकी उनले राजीनामा नगरी उम्मेदवारी दर्ता गराएको भन्दै आयोगमा उजुरी परेको छ । कार्कीको उम्मेदवारी खारेज भएको अवस्थामा आफू सहज रूपमा विजयी हुने न्यौपानेको दाबी छ । 

माओवादी केन्द्रका विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डलले पार्टी र गठबन्धनको निर्णयलाई कुनै पनि हालतमा असर पर्न नदिनका लागि दुवैको उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको बताए । मण्डलका अनुसार गठबन्धन दलभित्रका बागी उम्मेदवारी फिर्ता लिनका लागि कांग्रेस र जसपाले बेवास्ता गरेको बताए । उनले भने, ‘हामी बागी उम्मेदवारी फिर्ता गराउन तयार छाैँ, तर गठबन्धनमा आबद्ध कांग्रेस र जसपाले नै छलफल गर्न चासो दिइरहेका छैनन् ।’ 
स्रोतका अनुसार विराटनगर महानगरमा माओवादी केन्द्रले गठबन्धनको भागन्डाअनुसार मेयर कांग्रेसलाई र उपमेयर जसपलाई सहज रूपमा छाडिदिएको थियो । तर, कांग्रेस र जसपाले आफूहरूले मुख्य पद प्राप्त गरेर पनि माओवादी केन्द्रलाई वडा तहमा कुनै भागबन्डा दिन चाहेका छैनन् । यसैले माओवादी कार्यकर्ताहरूले  वडामा भागबन्डा नमिलेमा कुनै पनि हालतमा बागी उम्मेदवारी फिर्ता नगराउन नेताहरूलाई दबाब दिइरहेका छन् । माओवादीले आफ्नो जित सुनिश्चित हुने पाँचवटा  वडाको अध्यक्ष आफूहरूले पाउनुपर्ने माग गरिरहेको छ । तर, कांग्रेसले महानगरका १९ वटै वडामा र  जसपाले १७ वटा वडामा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । 

विराटनगर महानगरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइरालासहित जम्मा १६ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादव, एमालेकी शिल्पा कार्की र गठबन्धनकी बागी उम्मेदवार माओवादीकी नमिता न्यौपानेसहित १५ जनाले उम्मेदवारी दिएका छन् ।