Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार ०७:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डब्लुएचओको महानिर्देशकमा गेब्रेयसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार ०७:३८:००

नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनकेन्द्रित कार्यक्रम लिएर तीनदिने नेपाल भ्रमणमा आएका महानिर्देशक गेब्रेयसलाई दोस्रो कार्यकालका लागि समेत नेपालका तर्फबाट समर्थन रहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए ।

सन् २०२३ मा डब्लुएचओ महानिर्देशक चयन हुँदै छ । प्रतिस्पर्धामा दोस्रो कार्यकालका लागि देखिएका महानिर्देशक गेब्रेयस हाल नेपालको उच्चस्तरीय भ्रमणमा छन् । बिहीबार नेपाल आएका उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा. पोखरेलसँग औपचारिक भेट गरेका थिए । भेटका क्रममा स्वास्थ्यमन्त्री र सचिवले नेपालले आगामी निर्वाचनमा गेब्रेयसलाई समर्थन रहेको प्रतिबद्धता जनाएका हुन् । ‘दोस्रो कार्यकालका लागि तपाईंको मनोनयनलाई हामी समर्थन गर्दछौँ र शुभकामना दिन्छौँ । आफ्नो महŒवपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईंलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौँ,’ सचिव पोखरेलले भनेका थिए । 

स्वास्थ्यमन्त्री खतिवडाले सन् १९५३ मा नेपाल डब्लुएचओसँग आबद्ध भएदेखि सम्बन्ध उत्कृष्ट रहेको बताए । ‘नेपालजस्ता देशले सर्ने र नसर्ने रोगको दोहोरो मार खेप्नुपरेको चुनौतीपूर्ण अवस्थातर्फ म यहाँको ध्यानाकर्षण गराउँछु । विश्व स्वास्थ्य दिवसमा नेपालले भर्खरै सार्वजनिक गरेको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्माणमा डब्लुएचओको सहयोग प्रशंसनीय छ,’ उनले भने, ‘औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता मानव संसाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहायता र सहकार्य आवश्यक छ ।’ खतिवडाले अत्यावश्यक औषधि उत्पादन शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न विश्व स्वास्थ्य संगठनबाट मद्दतका लागि अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटमा गेब्रेयसले डब्लुएचओले नेपालको स्वास्थ्य सेवा सुधारका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य सचिव पोखरेलले जानकारी दिए । गेब्रेयसले मातृशिशु स्वास्थ्य तथा क्यान्सर उपचारमा सुधार ल्याउन सेन्टरहरू स्थापना गर्न डब्लुएचओले सहयोग गर्न तयार रहेको बताएका थिए । गेब्रेयसले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नेछन् । प्रधानमन्त्रीलाई भेटेपछि महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् । राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी पाटन अस्पतालमा टाइफाइड भ्याक्सिनको उद्घाटन समारोहमा पुग्नेछन् । शुक्रबार नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर पाटन दरबार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ ।