१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गठबन्धनलाई सुदूरपश्चिममा भागबन्डा मिलाउन सकस

प्रधानमन्त्री देउवाकै गृहजिल्लामा जुटेन सहमति

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:३७:oo

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबन्डा मिलाउन सकस देखिएको छ। प्रदेशका नौमध्ये दुई जिल्लामा मात्रै गठबन्धनमा आबद्ध दलहरूबीच नेतृत्व भागबन्डामा सहमति जुटेको छ। दार्चुला र बझाङका सबै तह तथा बैतडीका १० मध्ये तीन तहमा भागबन्डा टुंगिएको हो।

भागबन्डा नटुंगिएपछि कतिपय जिल्लामा गठबन्धनका दलले सहमति गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएका छन्। भागबन्डामा विवाद देखिएका जिल्लामा सबै पार्टीले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएका छन्। प्रदेशमा सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलेको छैन। जिल्लामा पटकपटक बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसकेपछि गठबन्धनको प्रदेश समितिलाई बाँडफाँडको जिम्मा दिइएको छ। यहाँका १३ तहमध्ये कांग्रेसले ११, माओवादी केन्द्रलेले सात र समाजवादीले पाँचवटा तहको नेतृत्व दाबी गरेका छन्।

कैलालीमा अहिले एमालेले ६, कांग्रेसले चार र माओवादीले एक कार्यवाहक अध्यक्षसहित तीन तहको नेतृत्व गरिरहेका छन्। केन्द्रले तय गरेको सातबुँदे मापदण्डमै दलहरूबीच बुझाइ फरक परेपछि भागबन्डामा समस्या भएको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए। ‘जनमत केलाई आधार मान्नेजस्ता विषयमा सबैको आ–आफ्नै बुझाइ रह्यो। जिल्लामा सहमति नभएपछि प्रदेशमा पठाउने निर्णय भएको छ,’ मिश्रले भने। 

कञ्चनपुर र डोटीमा पनि जिल्लामा सहमति नजुटेपछि प्रदेशलाई पठाइएको छ। नौ तह रहेको कञ्चनपुरमा कांग्रेसले पाँच, माओवादीले चार र समाजवादीले तीन तहको नेतृत्वमा दाबी गरेका छन्। यी पार्टीले अहिले दुई–दुई तहको नेतृत्व गरिहेका छन्। सहमति नभए पनि एक्लै चुनाव लड्ने गरी आफ्नो पार्टीले तयारी गरिरहेको माओवादीका जिल्ला संयोजक खेम पाण्डेयले बताए। ‘सहमति नहुन पनि सक्छ। त्यसैले एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेका छाैँ,’ उनले भने, ‘यद्यपि प्रदेशले केही सहमति गर्ला !’ नौवटा तह रहेको डोटीमा कांग्रेसले सात, माओवादीले चार र समाजवादीले दुई तहको नेतृत्व दाबी गरेका छन्। सहमति नजुटेपछि गठबन्धनका दलहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवार छनोट थालेका छन्। जिल्लामा सहमतिको सम्भावना नरहेपछि सहमति जुटाउने जिम्मा प्रदेशलाई दिइएको हो।

बाजुरामा पनि सिट बाँडफाँडमा सहमति हुन सकेको छैन। नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले गठबन्धनको छलफल सकारात्मक रूपमा अघि बढ्न नसकेको बताए। ‘सहमति टुटेको अवस्था छैन र जुटिसकेकोे पनि छैन,’ उनले भने, ‘गत स्थानीय तहको मतपरिणामको आधारमा भागबन्डा हुनुपर्छ भन्ने कांग्रेसको मत छ।’

प्रधानमन्त्रीकै गृहजिल्लामा जुटेन सहमति
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामै गठबन्धनबीच भागबन्डामा सहमति जुटेको छैन। सहमति हुन नसकेपछि जिल्लास्थित गठबन्धनको बैठकले आपसमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। दलहरू आ–आफ्नो अडानमा कायम रहेकाले तीन दिनयता गठबन्धनको बैठक बसेको छैन। कांग्रेस डडेल्धुराका उपसभापति डिल्ली जोशीले गठबन्धनमा सहमतिको सम्भावना नदेखिएकाले कांग्रेसले सबै पालिकामा उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको बताए।

‘पटकपटक छलफल गर्‍याैँ, तर सहमति जुटेन,’ उनले भने, ‘एक्लैएक्लै लड्दा पनि गठबन्धनभित्रकै दलले जित्ने अवस्था छ। त्यसैले आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ।’ गठबन्धनभित्र जुनसुकै दलबीच तालमेल गर्न सकिने, तर गठबन्धनबाहिरका दलसँग भने तालमेल गर्न नपाइने निर्णय पनि गठबन्धनको गत आइतबारको बैठकले गरेको उपसभापति जोशीले जानकारी दिए।

माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट र एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाहीको गृहजिल्लासमेत रहेको डडेल्धुराका सातवटा तहमध्ये कांग्रेसले पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले दुई तहमा नेतृत्व दाबी गरेका छन्। माओवादीले गत निर्वाचनमा जितेको अजयमेरू गाउँपालिकासहित थोरै मतले हारेको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकाको नेतृत्व दाबी गरेको छ। अघिल्लो निर्वाचनमा यी दुवै तहमा कांग्रेसले जितेको थियो। एकीकृत समाजवादीले आलिताल र नवदुर्गा गाउँपालिका दाबी गरेको छ। आलितालमा कांग्रेसको पनि दाबी छ। नवदुर्गामा यसअघि एमालेले जितेको थियो। अघिल्लो निर्वाचनमा कांग्रेसले चार, एमालेले दुई र माओवादीले एक तह जितेका थिए।

केन्द्रले संगठनको वर्तमान अवस्थालाई पनि भागबन्डाको आधार मानेकाले थोरै मतले हारेका र अरूभन्दा संगठन बलियो रहेका तहमा आफ्नो पार्टीले नेतृत्व छोड्न नसक्ने माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्ट बताउँछन्। ‘ठूला नेताको जिल्ला भएकाले केन्द्रले नै निर्णय गरिदिए होला, तर जिल्लामा सहमतिको सम्भावना निकै कम देख्छु,’ भट्टले भने, ‘त्यसैले हामी आफ्नो तयारीमा लागेका छौँ।’ एकीकृत समाजवादी र माओवादीबीच तालमेलबारे छलफल भए पनि सकारात्मक रूपले अगाडि नबढेको उनले बताए।

दार्चुला र बझाङमा सहमति
दार्चुला र बझाङमा भने गठबन्धनबीच सहमति भएको छ। कांग्रेसले पाँच र माओवादीले चार तहको नेतृत्व लिने गरी दार्चुलामा तालमेलको सहमति भएको हो। महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, दुहु र व्यास गाउँपालिकाको नेतृत्व कांग्रेसले लिएको छ। माओवादीले अपी हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको नेतृत्वमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिनेछ। माओवादीका जिल्ला संयोजक मानबहादुर धामीले कांग्रेसले सात तथा माओवादीले व्यास र मार्मा गरी दुई तहको उपाध्यक्ष लिने सहमति भएको जानकारी दिए।

सहमतिमा पालिका नेतृत्वको दाबी छोडेकाले वडा तहमा आफ्नो सम्मानजनक सहभागिता हुनुपर्ने एकीकृत समाजवादीले जनाएको छ। ‘अपी हिमालमा अध्यक्ष वा उपाध्यक्षमध्ये एउटामा हाम्रो दाबी थियो, तर सहमतिका लागि छोड्यौँ,’ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरबहादुर ठगुन्नाले नयाँ पत्रिकासँग भने, ‘वडा तहमा भने हाम्रो सम्मानजनक सहभागिता हुनुपर्छ भनेका छौँ।’

बझाङमा पनि गठबन्धनबीच पालिका नेतृत्व बाँडफाँडमा सहमति भएको छ। कांग्रेसले सात, एकीकृत समाजवादीले तीन र माओवादीले दुई तह लिने गरी बुधबार सहमति भएको हो। कांग्रेसले जयपृथ्वी र बुंगल नगरपालिका तथा मष्टा, खप्तडछान्ना, बित्थडचिर र सुर्मा गाउँपालिकामा नेतृत्व पाएको छ। एकीकृत समाजवादीले तलकोट, केदारस्युँ  र थलारा गाउँपालिका तथा माओवादी केन्द्रले दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकाको नेतृत्व पाएको छ। कांग्रेससले ६ उपप्रमुख, माओवादीले चार र एकीकृत समाजवादीले दुई तहमा उपप्रमुख पाउने सहमति भएको छ। 

बैतडीमा तीन तहमा गठबन्धनबीच तालमेलको सहमति भएको छ। कांग्रेसले पञ्चेश्वर र दोगडाकेदार गाउँपालिका तथा माओवादीले डिलासैनी गाउँपालिकाको नेतृत्व लिने सहमति भएको हो। त्यस्तै, एकीकृत समाजवादीले पञ्चेश्वर, माओवादीले दोगडाकेदार र कांग्रेसले डिलासैनीको उपाध्यक्ष लिने सहमति भएको छ। बाँकी सात तहमा सहमतिका लागि छलफल भइरहेको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए। ‘सकेसम्म जिल्लामै सहमति गर्ने प्रयास गरिरहेका छाैँ,’ उनले भने, ‘जिल्लामा सहमति हुन नसके गठबन्धनको प्रदेश समितिमा पठाउँछौँ।’

सहमतिनजिक पुगेका छौँ : वीरबहादुर बलायर, प्रदेश सभापति, नेपाली कांग्रेस
सुदूरपश्चिममा हामी नेतृत्व भागबन्डामा सहमतिनजिक पुगेका छौँ । पहाडी जिल्लाका केही ठाउँमा तालमेलको सहमति भइसकेको छ। सुदूरपश्चिममा सबै तहमा तालमेल गर्ने गरी छलफल भइरहेको छ। प्रदेश तहबाट पनि सहमतिको प्रयास गरिरहेका छौँ। सम्भवतः सबै ठाउँमा छिट्टै तालमेलको विषयमा सहमति हुन्छ। कैलाली, कञ्चनपुरको बाँडफाँड प्रदेशमा नमिलेको अवस्थामा केन्द्रमा पठाउँछौँ।

ad
ad