१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १७:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बागमतीमा तीनदिने युवा सम्मेलन हुने, ‘युवा सीप वर्ष’ घोषणाकाे तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:५२:oo

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्को आयोजनामा प्रदेशको राजधानी हेटौँडामा वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन हुने भएको छ।

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्नेलगायतका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई‌ंले जानकारी दिए।

सम्मेलन युवाहरूको क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने उनको दाबी छ। उनले सम्मेलनले युवापुस्तामा देखिएको चरम निराशालाई चिर्दै आशा र उर्जा थप्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका २०० भन्दा बढी युवाहरूको सहभागिता निश्चित भइसकेको उपाध्यक्ष चौलागाईंले जानकारी दिए। 
सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन १३ जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायबाट महिलालाई प्राथमिकता दिएर सहभागी गराउने तयारी रहेको उनको भनाइ छ।

सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका ५ वटा फरक-फरक विषयहरू समेटेर विभिन्न चरणमा छलफल गरिने बताइएको छ। छलफलमा डा. विश्वनाथ कोइराला, सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसाल, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सचेतक सुशीला थिङ, माओवादी केन्द्रका सांसद माधव सापकोटा र रास्वपाका मनीष झालगायतले सहभागिता जनाउनेछन्।

चौलागाईंका अनुसार सम्मेलनको अन्तिम दिन बागमतीको राजधानी चिनाउने र बागमतीलाई पहिचान गराउने कार्यक्रम रहनेछ भने युवासँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी छलफलमा उठेका विषयसहित राज्यले गरिरहेका पहल र कमजोरीका बारेमा छलफल गरिने बताइएको छ।

‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने
सम्मेलनपश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए। जसअन्तर्गत प्रदेशका पाँच हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उनको भनाइ छ।

उपाध्यक्ष चौलागाईंले विभिन्न १० वटा क्षेत्रमा एक सय बढी पेसाका सीप सिकाई सीप परीक्षणपश्चात् बिउपुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार गरिएको जानकारी दिए। उनले कार्यक्रमअन्तर्गत निर्माण, कृषि, सेवा, होटेल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिई सीप परीक्षणसहितको व्यवस्था गरिने बताए।

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरूको समन्वयमा सञ्चालन गरिने र तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सिटिइभिटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उपाध्यक्ष चौलागाईंले बताए। विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाइ छ।

ad
ad